
पाल्पा । रामपुरमा ३५ औं तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीको आयोजनामा प्रत्येक वर्ष हरितालिका तीजको भोली पल्ट संघले सञ्चालन गर्दै आएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।
प्रतियोगिताको उट्घाटन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवं अखिल नेपाल महिला संघका केन्द्रिय उपाध्यक्ष शर्मिला कार्कीले महिलाहरुको ३३ प्रतिशत सहभागीताको लागि अखिल नेपाल महिला संघले महत्वपूर्ण भुमिका खेलेको बताए। हाम्रा धर्म र संस्कृति मान्यता अनुसार पुरुषलाई प्राथमिकता दिने प्रवृतिले महिलाहरु पछि परेको बताए । महिलाको अधिकारको लागि संघ निरन्तर लागि परेको समेत बताए ।
प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले मुलुकमा व्यवस्था परिवर्तन भए पनि अवस्था अझै परिवर्तन नभएको बताए । संविधानले महिला सहभागिताको सुनिश्चितता गरे पनि दलहरुको गठबन्धनको कारण महिलाहरुलाई पछि पार्ने काम भएको बताए ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले मुलुकलाई यहाँ सम्म ल्याउन महिलाहरुको महत्वपूर्ण योगदान रहेको बताए।
प्रतियोगितामा १२ समुहको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम वडा नं. ३ को कल्पना शाहीको समुह, द्वितिय रामपुर नगरपालिका वडा नं. १० का मिना भण्डारीको समुह, तृतिय वडा नं. ३ रजघराको रञ्जु भट्टराईको समुह र सान्त्वना चापाकोट नगरपालिकाका मिरा अर्यालको समुह भएको निर्णायक मण्डलका संयोजक बन्दना पोखरेलले जानकारी दिए।
प्रतियोगितामा मिना अधिकारी रामपुर ८ को समुहलाई उत्कृष्ट पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा विजयी समुहलाई क्रमश नगद १५ हजार, १२ हजार, ९ हजार र ६ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । सहभागी प्रतियोगिहरुले महिला अधिकार, विकास, समसामयिक राजनैतिक घटनाक्रमका विषय उठान गरेका थिए ।
संघले समाजमा महत्वपूर्ण योगदान दिएका रामपुर ६ का योगमायाँ रेग्मी, रामपुर १० का बसीसरा कुमाल र रामपुर ३ का जमुना पाण्डेलाई सम्मान गरेको छ । अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीका अध्यक्ष राधिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम कोषाध्यक्ष नारायणी सुवेदीको स्वागत र सचिव सञ्जु परियारको सञ्चालनमा भएको हो ।