
पाल्पा । जाजरकोटका भुकम्प पिडितहरुको लागि रामपुर नगरपालिकाले सहयोग प्रदान गरेको छ । गत शुक्रबार आएको भुकम्पबाट प्रभावित भएका नागरिकहरुको लागि नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित राहत सामाग्री प्रदान गरेको हो ।
भुकम्पले क्षति गरेको जिल्ला जाजरकोट सदमुकाम खलंगा पुगेर रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा सहित जनप्रतिनिधिहरुले सहयोग हस्तान्तरण गरेको हो । पिडित परिवारको लागि जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई राहत रकम हस्तान्तरण गरिएको रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले बताउनुभयो ।
रामपुर नगर प्रमुख थापाले जाजरकोट सहित पश्चिम रुकुममा भएको क्षतिले सारा मुलुकलाई स्तब्ध गराएको बताउनुभयो । पिडा सबैको एउटै हुने भन्दै थापाले पिडित परिवारलाई केही राहत होस् भन्ने उद्देश्यले सहयोग गरिएको जानकारी दिनुभयो ।