रामपुरकाे जब्गादीमा एकीकृत घुम्ती शिविर सम्पन्न

बाेलीखबर   १५ जेष्ठ २०८१, मंगलवार ०९:३८

पाल्पा । रामपुर नगरपालिकाले विभिन्न सेवा सहितको एकिकृत घुम्ती शिविर सम्पन्न गरेको छ । नगरपालिकाले वडा नं. ९ को आधारभूत स्वास्थ्य केन्द्र जब्गादीमा आइतबार शिविर सम्पन्न गरेको हो । रामपुर नगरपालिकाले कार्यालयबाट प्रदान गरिने विभिन्न सेवाहरु वडा मै पुगेर प्रदान गरेको छ । शिविर मार्फत योजना फरफारक र भुक्तानी , आँखा , कान दाँत सम्बन्धि स्वास्थ्य परिक्षण , व्यवसाय दर्ता तथा नविकरण , कृषि तथा पशुपंछि सम्बन्धि परामर्श र औषधी वितरण ,ज्येष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र वितरण लगाएतका सेवा प्रदान गरिएको छ ।

जनताको सेवा सहजताका लागि एकिकृत घुम्ति शिविर कार्यक्रम गरिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । विभिन्न सेवा लिन नगरपालिकाको कार्यालय सम्म पुग्न दुरीका हिसाबले टाढा रहेका वडाहरुमा घुम्ति शिविर मार्फत सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो । “सिंहदरबारको अधिकार गाँउ गाँउमा भन्ने नारालाई सार्थक बनाउन  विभिन्न स्थानमा शिविर सञ्चालन गरिएको हो , उहाँले भन्नुभयो – शिविर मार्फत् नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सबै सेवा घर आँगनबाटै सहज र सरल रुपमा प्रदान गर्दै आएका छौँ । ” साथै नगरपालिकाको सेवालाई अझ सेवाग्राहीमूखी र नागरिकमैत्रि बनाउनका लागि शिविरको महत्वपूर्ण भूमिका रहने बताउदै नागरबासीको सहजताका लागि नगरपालिका प्रतिबद्ध भएर लागेको उल्लेख गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले नगरपालिकाको कार्यालय सम्म पुग्न बढि समय लाग्ने वडाका नागरिकहरुलाई मध्यनजर गरेर शिविर सञ्चालन गरिएको बताउनुभयो । नगरबासीको आवश्यकता र आफुलाई पायक पर्ने एकै स्थानबाट सबै सेवा प्रदान गर्न शिविर आयोजना गरिएको उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका जिल्ला उपसभापति ज्ञान बहादुर गाहाले नागरिकको आवश्यकतालाई ध्यानमा राखेर सबै सेवा प्रदान गरेकोमा रामपुर नगरपालिकालाई धन्यवाद दिनु भएको थियो । शिविरले स्थानीय सरकार भएको पूर्ण अनुभूत गराएको बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले कार्यालयबाट प्रदान गरिने सबै सेवालाई प्रभावकारी र सबैको पहुँच सम्म पु¥याउनका लागि शिविर आयोजना गरिएको बताउनुभयो । यस्तै रामपुर नगरपालिका वडा नं.९ का अध्यक्ष डिल बहादुर रानाले कार्यालय सम्म पुग्न धेरै समय लाग्ने भएकाले वडाबासीलाई वडाबाटै नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा प्रदान गर्न शिविर सञ्चालन गरेको उल्लेख गर्नुभयो ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । वडा नं.९ का अध्यक्ष डिल बहादुर रानाको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो ।

एकिकृत घुम्ती शिविरमा योजना फरफारक ७ वटा , १ सय ५२ जनाले पशु सेवा ,व्यवसाय नविकरण तथा दर्ता ३ वटा , १ सय ७७ जनाले आँखा जाँच , ७१ जनाकाे दाँत परिक्षण र १ सय ८२ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । यस्तै १ सय २३ जनाले कृषि सेवा , १ सय ५५ जनाले ज्येष्ठ नागरिक परिचयपत्र र ७ जनाले अपाङ्गता परिचयपत्र लिएका छन् । शिविरमा आँखा परिक्षणकाे क्रममा ५४ जनालाई चस्मा वितरण गरिएकाे र ११ जनामा माेतियाविन्दु भएकाे भेटिएकाे र यही जेठ २८ गते कालिगण्डकी आँखा उपचार केन्द्रमा अप्रेसन गरिने आँखा अस्पताल प्रमुख सुन्दर रानाले जानकारी दिनुभयो । शिविरबाट ३ सय ८८ जना सेवाग्राही लाभान्वित भएका छन् ।  शिविरमा कालिगण्डकी आँखा उपचार केन्द्र र रामपुर अस्पतालकाे प्राविधिक सहयोगमा आँखा र दाँत उपचार सेवा प्रदान गरिएकाे थियाे । रामपुर नगरपालिकाले यस भन्दा अगाडी वडा नं.१ को वडा कार्यालयमा एकिकृत घुम्ती शिविर सम्पन्न गरिसकेको छ ।