आज गणतन्त्र दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

बाेलीखबर   १५ जेष्ठ २०८१, मंगलवार ०९:५२

पाल्पा । आज (मंगलबार) गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जनआन्दोलन २०६२/०६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ ।

जननिर्वाचित पहिलो संविधान सभाबाट विक्रम संवत् २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।

राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाइँदै आइएको छ । यस दिनलाई निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाइँदै आइएको छ । विक्रम संवत् २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विक्रम संवत् २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो ।