अधुरा खानेपानी आयोजनालाई सम्पन्न गर्न प्राथमिकता दिइने: मन्त्री ढकाल

बोली खबर   १५ जेष्ठ २०८१, मंगलवार १९:२३


लुम्बिनी प्रदेश सरकारका शहरी बिकाश तथा खानेपानी मन्त्री भुमिश्वर ढकालले रामपुरमा रहेका अधुरा खानेपानी आयोजनालाई सम्पन्न गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएकाे छ । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ७ औं बार्सिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री ढकालले जनताको बिकाश र समृद्धिको चाहनालाई पुरा गर्न तिनवटै तहका सरकार, सबै राजनीतिक दलहरू मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।उहाँले रामपुर नगरपालिकामा धेरै सम्भावना रहेको हुनाले राजनीतिलाई एकठाउँमा छोडेर यस ठाउँको बिकाश र समृद्धिको लागी सबै दलहरूको साझा प्रतिबद्धता सहित रामपुरलाई आधुनिक बस्ती विकासमा आधुनिक सहर निर्माणमा र त्यसको व्यवस्थापनमा हामी रामपुरबाट सिक्नुपर्छ भन्ने खालको एउटा सन्देश दिने गरि लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

साधारणसभामा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै लुम्बिनी प्रदेशका अर्थ, उधोग तथा पर्यटन बिकाश समितीका सभापती एवं संस्थाका अध्यक्ष मानवीय राजुप्रसाद श्रेष्ठले बैशाख मसान्तसम्म उपभोक्ता सदस्य संख्या ४०४९ रहेको जानकारी दिँदै आगामी बर्षहरुमा ७ हजार धारा संख्या पुर्याउने लक्ष्य सहित बोरिङ, पाइपलाइन, खानेपानी टंकी लगायतका संरचना निर्माण गर्न नेपाल सरकार खानेपानी तथा ढल निकास बिभागसंग आयोजना माग गरी कार्यान्वयन तर्फ अगाडी बढाउने योजना रहेको बताउनुभयो ।


साधारणसभालाई सम्बोधन गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले सिमित बजेटको बाबजुद सबै वडामा खानेपानीको सहज आपूर्ति गर्न अधुरा खानेपानी आयोजनाहरु सम्पन्न गर्न कामलाई तीव्रताका साथ अगाडी बढाईएकाे बताउनुभयो । उहाँले बुटवल पावर कम्पनी लिमिटेडले हाल बढाएकाे बिधुत महसुल फिर्ता गर्नुपर्ने कुरामा पनि जोड दिनुभयो ।

कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष बिष्णुमायाँ ढकालले आर्थिक बर्ष २०७९/०८०मा ६ करोड त्रिचालीस लाख ४ हजार ४ सय उन्नाईस रुपैयाँ बराबरको आम्दानी खर्च प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिती पाल्पाका प्रमुख टंकनाथ खनाल,संस्थाका पुर्ब अध्यक्ष कमलराज भट्टराई, पुर्ब उपाध्यक्ष हुमनाथ न्यौपाने,उपभोक्ताहरुको तर्फबाट दुर्गादेबि राना,नेपाली काङ्ग्रेस रामपुर नगर कार्यसमिती सभापती नेत्रप्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगरकमिटी अध्यक्ष लिल बहादुर गाहा, नेकपा माओबादी केन्द्र रामपुर नगरकमिटी अध्यक्ष यम बहादुर सुनार,राष्ट्रिय स्वतन्त्र पार्टी रामपुर नगर सभापती अर्जुन प्रसाद श्रेष्ठ,नेकपा एकिकृत समाजबादी रामपुर नगरकमिटी अध्यक्ष फणेस्वर गौतम, राष्ट्रिय जनमोर्चा रामपुर नगरकमिटी अध्यक्ष रामप्रसाद गैर लगायतले सम्बोधन गर्दै साधारणसभा सफलताको शुभकामना दिनुभएको थियो ।


संस्थाका अध्यक्ष राजुुप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको सातौँ वार्षिक साधारणसभामा स्वागत उपाध्यक्ष हजुलदिन मियाँ र संचालन सचिब सालिकराम सिग्देलले गर्नुभएको हो ।