निस्दीकाे पहुँच मार्ग-सडक स्तरोन्नतिका नभएकाे भन्दै स्थानीयकाे ध्यानाकर्षण

बाेलीखबर   १९ जेष्ठ २०८१, शनिबार १५:०३

पाल्पा । निस्दी गाउँपालिकाका स्थानीयले सडक स्तरोन्नतिको कामले गति नलिएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । रामपुर – बेलडाँडा – ढुङ्गानाबेशी – मित्याल – अरुणखोला खण्ड सडक सञ्चालनमा आएको वषौं हुँदा समेत पाल्पा क्षेत्रमा स्तरोन्नतिको कार्यले गति नलिएको भन्दै शुक्रबार ध्यानाकर्षण गराएको हो ।

निस्दी गाउँपालिकाको मुख्य पहुँच मार्गको रुपमा रहेको रामपुर – बेलडाँडा – ढुङ्गानाबेशी – मित्याल – जलुके सम्मको सडक अझै स्तरोन्नति नहुँदा स्थानीयलाई सास्ती भएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो । निस्दीको प्रभावित क्षेत्रका स्थानीय युवाहरुले सडक खण्ड अन्तर्गत रहेको स्थानीय तह निस्दी गाउँपालिका र रामपुर नगरपालिका संगै सडक डिभिजन कार्यालय पाल्पा, सडक पूर्वाधार विकास कार्यालय, पाल्पा र सडक विभाग काठमाडौंमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

सरकारी बजेट विनियोजन सुरु भएको समेत झण्डै ३० वर्षको अन्तरालमा गण्डकी प्रदेशमा पर्ने भाग जलुकेदेखि अरुणखोला बजारसम्म पुल निर्माणदेखि सडक कालोपत्र पूरा भईसकेको छ । तर लुम्बिनी प्रदेशको पाल्पा तर्फ भने सरोकारवाला निकायको वेवास्ता र लापरबाहीले विनियोजित बजेट सही सदुपयोग हुन नसकेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

स्तरोन्नति नहुँदा खडेरीमा धुलैधुलो, बर्खामा हिलैहिलो र पहिरो खस्ने समस्या भएकाले सवारी साधन पनि चल्नै नसक्ने अवस्था सिर्जना हुने गरेको जनाएको छ । स्थानीय युवा मिन बहादुर सोमै द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘निस्दी गाउँपालिका पाल्पालाई जोड्ने मुख्य पहुँच मार्ग पनि यही सडक हो । त्यसैले आवश्यक स्तरोन्नतिको कार्यमा सबै सरोकारवाला निकायको तत्काल ठोस पहल गर्नका लागि हामी सम्पूर्ण निस्दी गाउँपालिकाका बासिन्दा जोडदार माग गर्दछौं ।’ साथै सडक स्तरोन्नती कार्य नगरी सरोकारवाला निकायले लापरबाही र ढिलासुस्ती गरे चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुने बताईएको छ ।

निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले ध्यानाकर्षण बुझ्दै पालिकाको पहुँच मार्गको सडक खण्ड स्तरोन्नतिको कार्य पालिका आफैले गर्न नमिल्दा समस्या भएको बताउनुभयो । ‘संघ र प्रदेशले प्रर्याप्त बजेट विनियोजन नगर्ने, संघ र प्रदेशले काम अघि बढाएको सडकमा गाउँपालिका आफैले बजेट खर्च गर्न पनि नपाउने भएकाले समस्या भएको हो ।’ उहाँले भन्नुभयो ।

संघिय सरकार अन्तर्गतको बजेटमा मार्फत ठेक्का भएर केही स्थानमा काम जारी रहे पनि सुस्त गतिमा रहेको बताउनुभयो । सडक स्तरोन्नतिको लागि पालिकाले पटक पटक ध्यानाकर्षण गराउँदै आएको बताउनुभयो । युवाहरुले चालेको सकारात्मक कदम प्रति उहाँले धन्यवाद दिनुभयो ।

निस्दीको कार्यक्रममा मिन बहादुर सोमै, पुनाराम सुनारी संगै निस्दीका स्थानीय युवाहरुको सहभागीता रहेको थियो । रामपुर नगरपालिकामा लेखान्त सुनारी, यम सोमै, दिपक अर्याल, सन्देश सुनारी, रवि दर्लामी सहितका युवाहरुको टोली, सडक डिभिजन, ढुंवाघाट र सडक पूर्वाधार विकास कार्यालय, बारुदखान पाल्पामा खुम सारु नेतृत्वको टोली र सडक विभाग, बबरमहल, काठमाडौंमा धनेष जर्घाले पत्र बुझाउनु भएको हो ।