
पाल्पा- पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं.४ स्थित भैरवस्थानमा रहेको ऐतिहासिक भैरवनाथ मन्दिरको पुनर्निमाण तथा जिर्णोद्दार शुरु गरिएको छ । मन्दिरमा तान्त्रिक विधिमार्फत क्षमा पुजा गरी मूल गजुरलाई हटाएर पुन:निर्माणको काम सुरु गरिएको हो ।

पुरातत्व विभागको मापदण्ड अनुसार राष्ट्रिय पुननिर्माण प्राधिकारणले २ करोड ६४ लाख २७ हजार नौ सय २८ रुपैँयाको लागतमा मन्दिर पुन: निर्माणको ठेक्का सम्झौता भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले जानकारी दिनुभयो ।आगामी बैशाख मसान्तभित्रै निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको भएपनि पुननिर्माणको समयमा दर्शनार्थीका लागि वैकल्पिक तरिकामार्फत दर्शनको व्यवस्था गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

करिब ५ शताब्दी पुरानो मन्दिर मणिमुकुन्द सेन प्रथमले वि.स.१५८० देखि निर्माण सुरु गरी १६१० मा निर्माण सम्पन्न गरेका थिए । धार्मिक र ऐतिहासिक महत्व बोकेको भैरवनाथको दर्शनका लागि देशका विभिन्न जिल्लासँगै भारतबाटसमेत बाक्लो रुपमा भक्तजनको उपस्थिति हुने गर्दछ ।भैरवनाथलाई मनोकांमना पुरा गर्ने गरेकाे जन बिश्वास रहिअाएकाे छ ।