नेपाली कांग्रेसले पाल्पाको ४ वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध सभा सहित प्रदर्शन

बन्दना पाेखरेल   २५ पुष २०७७, शनिबार २१:३४

नेपाली कांग्रेसले पाल्पाको ४ वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध सभा सहित प्रदर्शन गरेको छ । प्रधानमन्त्रीले गत पुस ५ गते प्रतिनिधी सभा विघटन गर्नु संविधान र लोकतन्त्रको मर्म विपरित कदम भएको भन्दै केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार विरोध ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध सभा भएको थियो । सोही अनुसार पाल्पा क्षेत्र नं. १ प्रदेश सभा क अन्तर्गत पूर्वखोला १ सिलुवा, प्रदेश ख अन्तर्गत माथागढीको कसेनी सराई, पाल्पा क्षेत्र नं. २ को प्रदेश क अन्तर्गत बगनासकालीको चिर्तुङ्गधारा, प्रदेश अन्तर्गत खस्यौलीमा विरोध सभा भएको हो ।

पूर्वखोला १ सिलुवामा निकालिएको विरोध ¥याली सिमलभञ्ज्याङ्ग बाट सुरु भई हटिया बजार बजार हुँदै दार्सिङ्ग भञ्ज्याङ्गमा पुगेर कोण सभामा परिणत भएको थियो । नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेश क को आयोजनामा भएको विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस पाल्पाका उपसभापति देवराज ढकालले प्रधानमन्त्री ओलीले चालेको कदम आफैमा संविधान र लोकतन्त्रको विरुद्धमा रहेको भन्दै मुलुकले प्राप्त गरेको उपलब्धी जोगाउनका लागि जुट्ने समय आएको बताउनुभयो । उहाँले कांग्रेस सदा मुलुक र जनताको पक्षमा रहेको भन्दै प्रधानमन्त्रीको कदमको विरुद्धमा लागि पर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका महासमिति सदस्य एवं रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विरोध नभई मुलुक दुर्घटना पर्छ की भन्ने त्रास कै कारण कांग्रेस सडकमा आएको बताउनुभयो । प्रधानमन्त्रीको कदमले विगतको अवस्थामा मुलुक जाने होकी भन्ने चिन्ता थपिएको बताउनुभयो । उहाँले वर्तमान सरकारले अरुलाई दोष दिएर पछि हट्न नमिल्ने बताउनुभयो । कांग्रेसका महासमिति सदस्य ज्ञान बहादुर गाहाले नेपाली कांग्रेसको अगुवाईमा मुलुकमा परिवर्तन आएको कांग्रेसको अभियानमा साथ दिन आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी हजिल दिन मियाँले मुलुकको संविधान माथि प्रधानमन्त्रीले कु गरेको बताउनुभयो । उहाँले संविधान विरामी परेको भन्दै उपचारको लागि ओलीको कदम विरुद्ध उत्रिनुको विकल्प नभएको बताउनुभयो । पार्टीका जिल्ला सदस्य कृष्ण प्रसाद अधिकारी असंवैधानिक कदम र लोकतन्त्रको रक्षाको लागि आवाज उठाउन आग्रह गर्नुभयो । नेपाल महिला संघका क्षेत्रिय सभापति एवं कांग्रेसका महाधिवेशन प्रतिनिधि विष्णु मायाँ ढकालले कांग्रेसले आफुले हार्छ भन्दा भन्दै पनि मुलुकको स्थायित्वको लागि निर्वाचन गराएर प्राप्त गरेको दुई तिहाईको नेकपाले अबमुल्यन गरेको बताउनुभयो । रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले नेकपाले जनतालाई धोका दिएको बताउनुभयो । नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले मुलुक र संविधान भन्दा माथि कोही नभएको भन्दै संविधानलाई मिच्नु निन्दनिय रहेको बताउनुभयो । नेपाली कांग्रेस निस्दी गाउँपालिकाका सभापति शालिकराम पाण्डेले नेकपा एमाले र माओबादीको पवित्र गठबन्धनको नतिजा अहिले भोग्नु परेको बताउनु भयो । कार्यक्रममा नेपाल तरुण दल क्षेत्र नं. १ का सभापति प्रेम प्रकाश श्रेष्ठले युवाहरुलाई वास्तविकता बुझेर अघि बढ्न अनुरोध गर्नुभयो । नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेश क का सभापति सुर्य प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम क्षेत्रिय सदस्य किशोर पंगेनीको स्वागत, नेपाली कांग्रेस पूर्वखोलाका सभापति झमन बहादुर राजमगरको धन्यवाद र नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेश क का सचिव अर्जुन प्रसाद रेग्मीको सञ्चालनमा भएको थियो । यस्तै कसेनीमा भएको कार्यक्रमलाई नेपाली कांग्रेस पाल्पाका सचिव झपेन्द्र गहिरे, क्षेत्र नं. १ का सभापति सन्तोष थापा, चिर्तुङ्गधारामा भएको कार्यक्रमलाई जिल्ला सभापति वीर बहादुर राना र खस्यौलीमा भएको कार्यक्रमलाई पूर्व केन्द्रिय सदस्य राजन पन्तले सम्बोधन गर्नु भएको थियो ।