तिनाउ गाउँपालिकामा साथीहरूबीच झगडा, कुटपिटबाट एक जनाको मृत्यु

बाेलीखबर   १ आश्विन २०८०, सोमबार १०:३२

पाल्पा । तिनाउ गाउँपालिका-२ स्थित घोडेबासमा तीजमा नाच्ने क्रममा भएको विवादपछि कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । नाचिरहेकाे अवस्थामा साथीहरू बीच झगडा पछि कुटपिट हुदाँ मृत्यु भएकाे  प्रहरीले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका घोडेबासकै २४ वर्षीय सुनिल खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कुटपिटबाट घाइते भएका उनलाई राति नै उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई राति पौने २ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए ।

उनका अनुसार राति साढे १० बजे तीज नाच भइरहेको अवस्थामा खत्री र उनका साथीहरूबीच सामान्य झगडा भएको थियो । त्यही झगडालाई लिएर राति सवा १२ बजे उनीहरूबीच पुनस् कुटाकुट भएको उनले बताए ।

झगडा तथा कुटपिटमा संलग्न शङ्कास्पद ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।