
रामपुर (पाल्पा), २४ माघ
पाल्पाको रामपुरमा हुने चौथो युथ युनियन कप २०७७ को पत्रकार सम्मेलन गरी टाइसेट वितरण गरिएको छ । मटेरी युथ युनियन क्लब रामपुर नगरपालिकाको आयोजनामा माघ २६ गतेबाट सुरु हुने कपको शनिवार मटेरी ठुलोटारमा पत्रकार सम्मेलन गरी टाइसेट वितरण गरिएको हो ।

क्लबका अध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्लबका सल्लाहकार तथा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य सावित्रा गौतम रहनुभएको हो । प्रमुख अतिथि गौतमले खेल क्षेत्रमा युवाहरुको उत्साह बढ्दो रहेको बताउनुहुदै खेलले शारीरिक तथा मानसिक विकास गराउनुका साथै साथीभाई बीचको आत्मियता, सामाजिक भावनाको विकास गराउने हुदा खेलकुदका कार्यक्रम निरन्तर अगाडी बढाउन अनुरोध गर्नुभएको छ । माघ २६ गते देखि फागुन १ गते सम्म हुने कप अन्र्तगत ईलाभेन ए साइड खुल्ला पुरुष फुटवल प्रतियोगिता, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई सम्मान, पूर्व खेलाडी सम्मान, रामपुर नगर माविस्तरिय हाजिरीजवाफ प्रतियोगिता हुनेछ ।

पत्रकार सम्मेलनमा खेल संयोजक सारजन चन्दले कपको शुभारम्भको दिन माघ २६ गते दिउँसो १ वजे युथ युनियन मटेरी र बाङ्गेपसल युथ क्लब, माघ २७ गते कालीगण्डकी युवा क्लब र चापाकोट युनाइटेड ह्वाइट, सोही दिन कालिका युवा क्लब देविस्थान र युथ क्लब भिमाद बीच फुटवल खेल हुने जानकारी दिनुभएको छ । माघ २८ गते सिज नेपाल सदावर्त र सराई फुलवल क्लब माडी बिच पहिलो चरणका खेल हुनेछ ।
फुटवल खेलमा प्रथम पुरस्कार नगद एक लाख साथमा ट्रफी, मेडल र प्रमाण पत्र, दित्तिय पुरस्कार नगद ५० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ । रामपुर नगर माविस्तरिय हाजिरीजवाफ प्रतियोगितामा प्रथम पुरस्कार दश हजार, द्धित्तिय पुरस्कार पाँच हजार साथमा प्रमाण पत्र रहेको आयोजकले जनाएको छ । पत्रकार भेटघाट कार्यक्रमको संचालन क्लबका सचिव दिपेन्द्रप्रसाद भट्टराईले गर्नुभएको हो । क्लबका सल्लाहकार तिलक मल्लले बोल्दै कार्यक्रम सफलताको कामना गर्नुभएको छ । खेल तथा कार्यक्रम मटेरी ठुलोटारमा हुदैछ । खेलमैदान प्राङ्गण सरसफाई, रंगरोगन लगायतका विविध कामहरु भइरहेका छन् ।