
पाल्पा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले मुलुकको परिवर्तन जनयुद्धले नभई जनआन्दोलनले ल्याएको बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुर नगर कमिटी र निस्दी गाउँकमिटीले सोमबार रामपुर आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै परिवर्तन १९ दिने जनआन्दोलनले ल्याएको बताउनु भएको हो । उहाँले भन्नुभयो “आज भोली कतिपय साथीहरुले भन्ने गर्नुहुन्छ यो परिवर्तन त हिजोको जनयुद्धले ल्याएको हो भन्ने गर्नुहुन्छ । जनयुद्धले त उथलपुथल ल्याएको हो । परिवर्तन ल्याएको १९ दिने आन्दोलनले हो । जहाँ ७ राजनैतिक दल र नेकपा माओवादी विचको सहमतीले यो मुलुकमा राजनैतिक परिवर्तन सम्भवन भएको हो ।” उहाँले नेकपा माओवादी र नेकपा एमाले दुवैको उद्देश्य एउटै र कार्यदिशा एउटै भएकाले समयको माग अनुसार एकता गरिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले प्रचण्ड संग कयौं प्रस्तावहरु राखे पनि स्वीकार नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री ओलीले जति प्रयास गर्नुभयो त्यति चिन्ता प्रचण्डले गर्नु भएको भए एकता जोगाउन सकिन्थ्यो ।” उहाँले पार्टी एकता उलङ्गघन गर्ने नेता पुष्पकमल दहाल प्रचण्ड नै भएको आरोप समेत लगाउनुभयो ।
पार्टी एकताको काम नटुङ्गीदै, एकताको अधिवेशन नहुँदै प्रथम अध्यक्ष माथि प्रहार गरेको भन्नुभयो । साथै पोखरेलले पार्टी फुट्नुलाई नेता नेता विचको झगडाको रुपमा मात्र नबुझ्न आग्रह गर्दै प्रचण्ड–माधव नेपालले आफुहरुको आस्था र भविष्य माथि प्रहार र भावना माथि खेलवाद गरेको बताउनुभयो । उहाँले दुई वटा पार्टी विचको एकता आवश्यकताको आधारमा गरिएको बताउँदै पार्टी फुट्न नदिन कयौं प्रयासहरु गरे पनि असफल भएको बताउनुभयो । उहाँले कार्यकर्तालाई भएको जति हो त्यति बुझ्न आग्रह गर्नुभयो । जनतामा जाने कुरा लोकतन्त्रको उच्चतम रुप भएको भन्दै पोखरेलले भन्नुभयो, “तानाशाहहरु जहिल्यै जनता बाट डराउँने गर्छन् ।
लोकतन्त्रमा विश्वास गर्नेहरुले जनाताको विश्वास गर्छन् । नेपाल राज्यको सम्पूर्ण अधिकार नेपाली जनतामा रहेको छ ।” प्रचण्ड र नेपालको तनाशाही परिभाषा अनौठो लाग्दो रहेको भन्दै आफुहरुले आज हिडेको बाटो लोकतन्त्र रक्षा र पार्टी एकताको बाटो भएको बताउनुभयो । १ घण्टा भन्दा लामो सम्बोधनमा उहाँले अधिकांश समय पार्टी एकता फुट्नमा माधव प्रचण्ड समुहलाई दोष दिनमा खर्चिनु भएको थियो । साथै उहाँले वर्तमान सरकारले विगतमा महेन्द्रको पालामा जस्तै मुलुका ठूलाठूला विकासका आयोजना सञ्चालन गरेको फेहरिष्ट प्रस्तुत गर्नु भएको थियो ।
उहाँले विकासको एजेन्डा बोकेर अगाडी बढेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कुर्चीको मोहमा परेर विरोध गर्नु जायज नभएको बताउनुभएको छ। मुख्यमन्त्री पोख्रेलले नेकपा नेपाल –प्रचण्ड पक्षलाई इकित गर्दै जनताले ५ वर्षको लागि सरकार सञ्चालन गर्ने म्यान्डेट दिएपनि केही व्यक्तिको कुर्ची मोहका कारण नेकपामा केही समस्या देखापरेको बताउदै कुर्ची मोहले केहीलाई सडकमा पुर्याएको बताउनुभयो ।
वर्तमान सरकारले राष्ट्रियताका पक्षमा गरेका कामहरु ऐतिहासिक भएको बताउदै मुख्मन्त्री पोख्रेलले सरकारको काम देखेर आफ्नै पार्टीका केही नेताहरु प्रधानमन्त्री बिरुद्ध लागेको बताउनुभयो । सरकारले विकास निर्माणका कामहरु तिब्र गतिमा अगाडी बढाएको मुख्यमन्त्री पोख्रेलले दावी गर्नुभयो । सरकारले सडक सञ्जाल देखि रेलमार्गको निर्माण संगै अधिकाशं पहाडी जिल्लाहरुमा सडक कालोपत्रेका साथै तीन वटा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकार अनि प्रधानमन्त्री कसरी असफल ? भन्दै प्रश्न समेत गर्नुभयो ।
त्यस्तै कार्यक्रममा पाल्पा क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य एवं नेकपाका केन्द्रिय सदस्य दल बहादुर रानाले सम्बोधन गर्नु भएको थियो ।
पुस ५ गते प्रतिनीधि सभा विघटन संगै नेकपाको कुनै गुटमा नदेखिएर तटस्थ बस्नु भएका रानाले ओली समुह समर्थको आयोजनामा भएको कार्यकता भेलालाई सम्बोधन गर्नु भएको हो । नेकपाको फुट पछि आफ्नै निर्वाचन क्षेत्रमा आएर पहिलो पटक नेकपा ओली पक्षको भेलालाई सम्बोधन गर्दै रानाले भन्नुभयो, “ नेकपाका अध्यक्ष केपी शर्मा ओली ज्यूले नेतृत्व गरेको नेकपाको पक्षमा हामी छौ भनेर तपाईहरु जसरी लाग्नुभयो म धन्यवाद दिन चाहान्छु । तपाईहरु छिटो लाग्नु भयो म ढिलो भएँ । म पनि तपाईहरुको साथमा छु भन्नको लागि उभिन आएको छु । पार्टीको अप्रत्यासित घटना घट्यो । मैले विचार गरेर तपाईहरु कै साथमा आएको हुँ । अर्को सदस्य निर्वाचित नभए सम्म मैले यही बाट काम गर्नु पर्छ भनेर तपाईहरुको पक्षमा आएको हुँ ।” उहाँले कार्यकर्ताहरुलाई नेकपा छाडेर नभाग्न समेत आग्रह गर्नुभयो । साथै रानाले फुटलाई स्वीकार गरेर जानु आवश्यक रहेको बताउनुभयो । हाटेल न्यू श्रीनगरको नयाँ सभाहलमा भएको कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय कमिटी सदस्य एवं प्रदेश सांसद दधीराम न्यौपानेले प्रचण्ड अस्थिरता र अन्यौलताको प्राय रहेको बताउनुभयो । जनताले निर्वाचनमा दिएको मतको उपेक्षा गरेको बताउँदै न्यौपानेले प्रचण्ड जता हिड्यो त्यतै हिडे मात्र पार्टी वैधानिक हुन्छ भन्ने नहुने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहका केन्द्रिय सदस्य, नेकपा पाल्पाका जिल्ला अध्यक्ष एवं लुम्बिनी प्रदेश सांसद नारायण प्रसाद आचार्यले केन्द्रिय अध्यक्ष, प्रदेश र जिल्ला कमिटि सबै साविक कै रहेकाले यो पार्टी नै वैध पार्टी रहेकोे बताउनुभयो । नेकपाका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश सांसद भोज प्रसाद श्रेष्ठले सिद्धान्तको लडाई भन्दा पनि व्यक्तिगत टकरावका कारण अहिले पार्टीमा समस्या आएको बताउनुभयो । जनताको समस्या नभई पद लुछाचुडीले समस्या ल्याएको भन्दै देश र पार्टीलाई एक गराउने नेतृत्व केपी ओली नै भएको बताउनुभयो । लुम्बिनी प्रदेशका सदस्य युवराज खनालले नेकपा पाल्पा एउटै रहेको दावी गर्दै पाल्पा नेकपाको लागि एउटा ऐतिहासिक स्थान रहेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुर नगर इन्चार्ज राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको स्वागत र नेकपा रामपुरका सचिव दामोदर पाठकको सञ्चालनमा भएको हो । कार्यक्रममा रामपुर नगरपालिका र निस्दी गाउँपालिकाका अगुवा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।


