
१ फागुन, बुटवल । नेकपा ओली समूहका नेताहरुले केपी शर्मा ओली सूर्य चिह्न कसको भन्नेमा विवाद गर्नु नपर्ने दाबी गरेका छन् ।
बुटवल-७ सिद्धेश्वर माविको मैदानमा भएको सभाका लाागि प्रदेशका १२ वटै जिल्लाबाट कार्यकर्ता र जनता ल्याइएको थियो । सभालाई सम्बोधन गर्दै समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, उर्जामन्त्री टोपबहादुर रायमाझी र उद्योगमन्त्री लेखराज भट्ट, मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिकसँगै विषयका मुद्दा समेत अगाडि सारे ।
पुस ५ गते प्रतिनिधि सभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड-माधव समूह सडक आन्दोलनमा छ भने सत्तामा रहेको ओली समूहले पनि सभाहरु गरेर शक्ति प्रदर्शन गर्दै आएको छ । माघ २३ मा काठमाडौंमा सभा गरेको यो समूहले शनिबार बलियो पकड मानिएको लुम्बिनी प्रदेशको बुटवललाई शक्ति प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री ओलीले आफूले अहिलेसम्म सूर्य चिह्नबाहेक अरु चिह्नबाट नलडेको र आफूहरुले नै दर्ता गराएको भएकाले सूर्य चिह्न कसको भन्नेमा विवाद गर्नु नपर्ने दाबी गरे । २०४७ सालपछि निर्वाचन आयोगमा सूर्य चिह्न दर्ता गराउने आफूहरु नै भएको र प्रचण्डले जीवनमा एकपटक पनि सूर्य चिह्नबाट चुनाव नलडेको भन्दै उनले कुन आधिकारिक भन्ने छलफल गरिरहनुपर्ने विषय नभएको बताए ।