रामपुर नगरपालिकाको आठौं नगर सभा सम्पन्न

बन्दना पाेखरेल   १४ फाल्गुन २०७७, शुक्रबार ०५:५७

फाल्गुण १३

पाल्पा, आर्थिक वर्ष २०७७/०७८ को योजना संशोधन प्रस्ताव सहित ३ वटा विधेयक र १ वटा नियमावली पारित गर्दै रामपुर नगरपालिकाको आठौं नगर सभा सम्पन्न भएको छ ।

होटेल न्यू श्रीनगरको सभाहलमा भएको नगरसभाको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले ८ वटा गमलामा पानी राखेर दिप प्रज्वलन गरी शुभारम्भ गर्नु भएको थियो । सभाले छलफल पश्चात संशोधन सहित भवन निर्माण विधेयक २०७७, स्वास्थ्य तथा सरसफाई विधेयक २०७७, प्रकृतिक स्रोत तथा वातावण संरक्षण विधेयक २०७७ र खरिद नियमावली २०७७ सर्वसम्मत रुपमा पारित गरेको हो । त्यस्तै नगर स्तरिय योजनाहरु मध्ये संघ संस्था तर्फका २५ वटा, खानेपानी तर्फका २१ वटा, मर्मत तथा निर्माण तर्फ ९६ वटा, वन तर्फका ३ वटा, खेलकुद तर्फ ४ वटा, शिक्षा तर्फ १ वटा, स्वास्थ्य तर्फ ३ वटा, अन्य तर्फ १५ वटा योजना संशोधन गरेको छ ।

वडा स्तरिय योजन मध्ये वडा नं. १ को २ वटा, वडा नं. २ को २ वटा, वडा नं. ३ को ८ वटा, वडा नं. ४ को २ वटा, वडा नं. ५ को २ वटा, वडा नं. ६ को ४ वटा, वडा नं. ७ को २ वटा, वडा नं. ८ को ३ वटा, वडा नं. ९ को ५ वटा र वडा नं. १० को ६ वटा योजना संशोधन भएको रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिनुभयो । नगर सभामा रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले योजना संशोधन प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै पूर्वाधार विकास समितिका संयोजक हिमाल मल्ल ले भवन निर्माण विधयेक, सामाजिक विकास समितिका संयोजक एक बहादुर नेपाली र सदस्य मीन बहादुर सिंजालीले स्वास्थ्य तथ सरसफाई विधेयक, विपद व्यवस्थापन समितिका संयोजक तारा बहादुर थापा र सदस्य हुमनाथ न्यौपानेले प्राकृतिक स्रोत तथा वातावरण संरक्षण विधेयक र लेखा समितिका संयोजक लिल बहादुर गाहाले खरिद नियमावली पेश गर्नु भएको थियो ।

नगरसभामा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिका समानुपातिक विकासमा अघि बढी रहेको जानकारी गराउँदै नगरले लिएको स्वच्छ सुन्दर र समुन्नत शहर हाम्रो रामपुर नगर भन्ने नारालाई सार्थ बनाउन तर्फ अग्रसर हुन आग्रह गर्नुभयो । उहाँले नगर सभा बाट प्राप्त सुझावलाई समावेश गरेर ऐन तथा नियमावली जारी गरिने बताउनुभयो । साथै थापाले विकासमा सबै संग हातोमालो गरेर अघि बढ्ने बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले विकासका गतिविधिहरु अब तथ्याङ्कमा आधारित भएर सञ्चालन गर्नु पर्ने बताउनुभयो ।

यहाँले आवधिक योजना अनुसार अघि बढ्न सकेमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विधी मार्फत मापन गर्न सहज हुने र काम पनि देखिने बताउनुभयो । उहाँले नगरलाई हरेक चिजमा आत्मनिर्भर गराउने खालका कार्यक्रम सञ्चालन गर्दै जानु पर्ने बताउनुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतमा भएको कार्यक्रम उपप्रमुख विष्णु देवी घिमिरे आचार्यको स्वागत र रामपुर नगरपालिका कृषि शाखा अधिकृत रामहरि पाण्डेयको सञ्चालनमा भएको हो ।