
पाल्पा, रामपुर नगरपालिकाले महिला म्याराथन प्रतियोगिता सञ्चालन गर्ने भएको छ । मार्च ८ अर्थात् आउदो फागुन २४ गते मनाइने १ सय ११ औं महिला दिवसको अवसरमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।महिलाहरुलाई प्रतिस्पर्धी, अब्बल र सक्षम महसुस गराउन फरक किसिमको प्रतियोगिता राखिएको रामपुर नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले समाजका हरेक क्षेत्रमा महिलाको सहभागिता र भुमिका उत्तिकै हुने बताउनुभयो । खुला म्याराथुन प्रतियोगितामा उल्लेख्य सहभागी हुने अपेक्षा गरेको भन्दै यस्ता प्रतिस्पर्धाले छुट्टै उत्साह दिलाउने बताउनुभयो ।प्रतियोगितामा सहभागी हुन चाहनेले नगरपालिकाको महिला शाखामा फागुन २२ गते भित्र नाम दर्ता गरिसक्नु पर्नेछ । साथै फोनबाट पनि नाम टिपाउन सक्ने महिला तथा बालबालिका शाखाका पुजा परियारले जानकारी दिनुभयो । नगरभित्रका स्थायी नागरिक, जुन सुकै उमेर समुहका महिलाहरु पनि प्रतियोगितामा सहभागी हुन सक्नेछ । म्याराथनको लागि नगरपालिका कार्यालय परिषर बाट बजारचोक – पाचकुने चोक- नमुनामार्ग- बालकल्याण प्रावि – रामपुर अस्पताल, सानीअमराई हुँदै कालीआँप- डुम्रीगाउँ शिवालय चोक, किसानबारी बजार हुँदै आँखा अस्पताल प्राङ्गण चौर सम्मको रुट तय गरिएको महिला शाखाले जनाएको छ ।प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार, द्वितियले नगद ५ हजार, तृतीयले नगद २५ सय र सान्त्वना ७ जनाले १/१ हजार पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।