रामपुरमा न्यानो कपडा वितरण

बन्दना पाेखरेल   १९ फाल्गुन २०७७, बुधबार ११:२६

पाल्पा, मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत रामपुर नगर भित्रका २ सय जेष्ठ, असाहाय तथा विपन्न नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

नगर भित्रका १० वटै वडाका २०/२० जना नागरिकलाई वडाको छनौटको आधारमा बलाङ्केट वितरण गरेको हो । आईतबार र सोमबार वडा नं. १, २, ३, ८, ९ र १० मा र मंगलबार वडा नं. ४, ५, ६ र ७ का नागरिकहरुलाई वितरण गरिएको हो । वडा कार्यालयमा पुगेर सम्बन्धित वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुको उपस्थितिमा लुम्बिनी प्रदेशका सांसद युवराज खनाल र रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले संयुक्त रुपमा न्यानो कपडा हस्तान्तरण गर्नु भएको थियो ।

बलाङ्केट वितरण गर्दै प्रदेश सांसद खनालले ग्रामीण क्षेत्रमा रहेका जेष्ठ नागरिक, विपन्न नागरिक तथा असाहायहरुको जीवनस्तरमा सुधार ल्याउनका लागि मुख्यमन्त्रीको कार्यालय मार्फत कार्यक्रम सञ्चालनमा रहेका जानकारी गराउनुभयो । उहाँले स्थानीय तह, प्रदेश र संघ विचको समन्वयले मात्र विकासले गति लिने बताउँदै यस्ता कार्यक्रमले जनतालाई सरकार भएको आभाष दिलाउने बताउनुभयो ।रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले नगरपालिकाले पनि स्थानियको जीवन स्तर सुधारका लागि कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले प्रदेश र संघिय सरकार संग समन्वय गरेर नगरपालिका विकासमा अघि बढेको बताउँदै जनतामुखी कार्यक्रम नगरमा सञ्चालन भएको बताउनुभयो । साथै उहाँले मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकहरुको सम्मानमा यो कार्यक्रम गरिएको बताउनुभयो ।

मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम योजना छनौट तथा सिफारिस समिति सदस्य बन्दना पोखरेलले प्रदेश बाट विनियोजित ७० लाख बजेट मध्ये बाट पहिलो चरणमा ६० वर्ष माथिका वृद्ध, असाहाय तथा विपन्न नागरिकलाई न्यानो लुगा प्रदान गरिएको बताउनुभयो । उहाँले नगरपालिका संग समन्वय गरी स्वास्थ्य विमा कार्यक्रम, बंगुरपालन तथा बाख्रपालन, तरकारी खेती तथा सिलाईकटाई तालिम र अपाङ्गता भएका नागरिकलाई सीपमुलक तालिम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

रामपुर नगरपालिका ४ को कार्यालयमा भएको कार्यक्रम वडा नं. ४ का वडा अध्यक्ष एक बहादुर नेपालीको अध्यक्षता, वडा सदस्य पार्वती परियारको धन्यवाद र वडा सचिव रजनी भण्डारीको सञ्चालनमा भएको थियो । वडा नं. ५ मा भएको कार्यक्रम वडा अध्यक्ष हिमाल मल्लको अध्यक्षता, वडा सदस्य मायाँ नेपालीको स्वागत, मेलमिलापकर्ता अर्जुन प्रसाद रेग्मीको धन्यवाद र वडा सचिव महेश प्रसाद भट्टराईको सञ्चालनमा भएको थियो । ६ नं. वडा कार्यालयमा भएको कार्यक्रम वडा अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षता, वडा सदस्य यम बहादुर भुजेलको स्वागत र वडा सल्लाहाकार विष्णु मायाँ ढकालको धन्यवाद र वडा सचिव बासुदेव ढकालको सञ्चालनमा भएको हो । ७ नं. वडा कार्यालयमा भएको कार्यक्रममा अध्यक्षता वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनी, स्वागत वडा सदस्य दुर्गादेवी भण्डारी गौतम, धन्यवाद वडा सदस्य कमलराज भट्टराई र सञ्चालन वडा सचिव धनेन्द्र खनालको रहेको थियो ।