विप्लव समूहलाई लगाइएको प्रतिबन्ध हट्यो, सरकारसँग तीनबुँदे सहमति

बाेली खबर   २० फाल्गुन २०७७, बिहीबार ११:०३

काठमाडौं । सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहलाई लगाएको प्रतिबन्ध हटाएको छ । सरकारी वार्ता टोली र विप्लवबीच आज भएको तीनबुँदे सहमतिमा प्रतिबन्ध हट्ने उल्लेख छ ।

“नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरु रहेका सहमतिको विस्तृत विवरण यही फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने छ,” विज्ञप्तिमा उल्लेख छ ।

साथै प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् । सरकार र विप्लव समूहबीच आज भएको तीनबुँदे सहमतिपछि उनी सार्वजनिक हुने भएका हुन् ।

भोलि हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शार्म ओली र विप्लवले सम्बधोन गर्नेछन् । विप्लव पछिल्लो तीन वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।