बालासिद्ध मन्दिर भाकल गरेका कुरा पुग्ने जन बिश्वास

बन्दना पाेखरेल   २७ फाल्गुन २०७७, बिहीबार ०५:४५

रामपुर पाल्पा, २६ फाल्गुण ।

पाल्पाको रामपुर नगरपालिका–१० स्थित कालीगण्डकीको किनारमा रहेको बालासिद्ध मन्दिर भाकल गरेका कुरा पुग्ने जन बिश्वास रहेको छ । तर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । मन्दिरमा गएर भाकल गरेमा मनको कुरा पूरा हुने जनविश्वासले दैनिक दशनार्थीको भीड लाग्ने गरेको पाईन्छ । मन्दिरले धार्मिक, पर्यटकीय एवं ऐतिहासिक महत्व बोकेको भए पनि यसको यथेष्ट प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ ।

विसं २०२९ जेठ ६ गतेका दिन बाटोमा हिँड्ने क्रममा च्याङ्गलिङ्ग क्षेत्रमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चेतकान्त भट्टराई, स्थानीय टीकाराम पाठक र चन्द्रबहादुर रिश्मेले गोहोरो देखेपछि मार्नका लागि लखेट्ने क्रममा ओढारभित्र पसेको थियो । गोहोरो खोज्दै जाने क्रममा ओढारभित्र देवता फेला परेको समितिका अध्यक्ष चेतकान्त भट्टराईले बताउनु हुन्छ । “ओढारभित्र गाईको थुन आकारका चित्र, विभिन्न देवी देवताका चित्र ओढारका भित्तामा छर पस्ट देखेपछि भगवानका रुपमा स्थानीयले संरक्षण गर्दै त्यससमयदेखि नै नियमित पूजाआजा गर्न थालिएको हो”, उहँँले भन्नु भयो ।

यहाँ आएर मागेका कुरा पूरा भएपछि धेरैले विश्वास गरी पटकपटक मन्दिरमा पुजाआजाका लागी आउने गरेको उहाँ बताउनु हुन्छ । छ्वाङ्छ्वाङ् बग्ने कालिगण्डकिको आवाज र मनोरम दृश्य सगँै रमाउनदै ओढारमा रहेको देवताको थानमा दुध चढाउनेको बढी घुईचो यहाँ लाग्ने गर्दछ । कालीगण्डकीको किनार नजिकै ओढारमा रहेको यस मन्दिरको प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको मन्दिर संरक्षण समितिका सदस्य डम्मरदेव भट्टराइले बताए । “कालीगण्डकी करिडोर बाट करिव ३० मीटर तल र कालीनदीको तटमा रहेकाले यसलाई प्रसिद्ध धार्मिक तीर्थस्थलका रुपमा विकास गर्न सकिन्छ, सम्बन्धित निकायले संरक्षणमा बेलैमा नै चासो नदिँदा यो मन्दिर ओझेलमा परेको छ”, उहाँको भनाई रहको छ ।

अहिले ओढारलाई संरक्षण गरी मन्दिर आकारमा संरचना निर्माण गरेपछि पूजाआजा गर्न सहज भएको छ । श्रीपञ्चमी, ठूलो एकादशी, वैशाखे सङ्क्रान्ती, माघे सङ्क्रान्ति लगायतका पर्वमा यहाँ ठूलो मेला लाग्छ । भने साउन महिनामा दुध चढाउनेको भिड लाग्ने र्गदछ । शिवजिको स्वरुप मानिएको बाल सिद्धमा सोमबार धेरै भक्त जन आउने र्गदछन् । यस मन्दीरमा मागेका कुरा पुग्ने भएपछि पाल्पा, स्याङ्जा, तनहुँ, रुपन्देही, नवलपरासी लगायतका विभिन्न स्थानका भक्तजन ठूलो सङ्ख्यामा मन्दिरमा आउने गरेको स्थानीयवासी यमनाथ पाठकले बताउनु हुन्छ । आजभन्दा पाँच सात वर्ष अगाडिसम्म मन्दिरमा दूध चढाउन तथा पूजाआजा गर्नका लागि बास बसेरै भए पनि भक्तजन आउने गर्थे ।भोली पल्ट कालिनदिमा स्नान गरी सकेपछि पुजा गरेर मात्र र्फकने गर्थे ।

अहिले सडक सुविधा पुगेपछि मन्दिरमा आउन जान सजिलो भएको छ । कालीगण्डकीमा स्नान गरेर सिधै मन्दिरमा पूजाआजा गर्न सहज हुने भएपछि अघिल्लो दिन बास बस्न नर्पने र र्फकी हाल्ने गरेको स्थानीय बुढापाका बताउँछन् । अहिले भने सवारी साधनमा आएर मन्दिर दर्शन गरेर फर्कने गर्छन् । यस मन्दिरमा विवाह, व्रतबन्ध, रुद्री पूजालगायतका हिन्दू संस्कारका विभिन्न धार्मिक कार्य हुने गर्छ । मन्दिरमा भाकल गरेर मागेको कुरा पुगेपछि अर्कोपटक आउँदा नगद दान, मन्दिरका लागि आवश्यकपर्ने विभिन्न पूजाका सामग्री चढाउन आउने गरेको पाइएको छ । मन्दिरको भौतिक संरचना निर्माणका लागि स्थानीय टोपलाल भट्टराई र गङ्गाधर भट्टराईले तीन रोपनी, मित्रलाल पाठकले साढे एक रोपनी जग्गा सहयोग गरेका छन् ।

मन्दिरमा अहिले पूजारी पद्मराज पोखरेलले दैनिक पूजापाठ र रेखदेख गर्दै आउनु भएको छ । ओढारलाई संरक्षण गरी पूजाआजा व्यवस्थापनका लागि भौतिक संरचना, हवनकुण्ड निर्माण गरिएको छ । साविक हेक्लाङ्ग गाउँ विकास समिति र रामपुर नगरपालिकाले पनि यसको व्यवस्थापनमा सहयोग गरेको छ । मन्दिरमा हालसम्म रु २५ लाख बराबरको काम भइसकेको समितिले जनाएको छ । कालीगण्डकीको किनार नजिकै रहेकाले पनि यो क्षेत्रको प्रचारप्रसार तथा भौतिक संरचना विकास गर्न सकेको खण्डमा धार्मिक पर्यटकीय गन्तव्यस्थल बन्नेछ । यसलाई कालीगण्डकी वेंशीकै महत्वपूर्ण धार्मिक क्षेत्रका रुपमा पनि लिइन्छ ।