बरडाँडामा निर्माण हुन लागेको भ्युटावरको शिलन्यास गरीयो

बन्दना पाेखरेल   ३ चैत्र २०७७, मंगलवार १२:१७

पाल्पा रामपुर

पर्यटकिय क्षेत्र पाल्पाको रामपुर वडा न ४मा भ्युटावर निर्माण सुरु गरिएको छ । रामपुर नगरपालिका वडा नं ४ को बरडाँडामा निर्माण हुन लागेको भ्युटावरको सोमवार शिलन्यास गरिएको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले भ्युटावरको शिलन्यास गर्नु भएको हो । सिलन्यास गर्दै पर्यटकिय क्षेत्रको विकासको लागि नगरपालिकाले वजेट विनियोजन गरी भ्युटावर निर्माण गर्न लागेको बताउनु भएको छ ।

उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बजार वस्ती देखि माथिल्लो भेगमा रहेको यस क्षेत्रबाट कालीगण्डकी वेशीका धेरै ठाउँको दृश्यावलोकन गर्न र पर्यटक भित्रार्याउनका लागि भ्युटावर निर्माण कार्य सुरु गरिएको बताउनु भयो ।

रामपुर नगरपालिकाको सहयोगमा बहुवर्षिय योजना अनुरुप करिव ५० फिट अग्लो (चार तला) को भ्युटावर निर्माण गर्न रु १६ लाख रकमबाट काम थालनी गरिएको समितिका अध्यक्ष अमिर रानाले बताउनु भएको छ । उहाँका अनुसार निर्माण कार्य सम्पन्न गर्न करिव ६० लाख रकम लाग्ने अनुमान गरिएको छ ।

पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न भ्युटावर निर्माण हुने भएपछि स्थानीयमा खुशीयाली छाएको छ । यस क्षेत्रमा पहिले बाक्लो वस्ती रहेपनि पछिल्लो समय भने बजार नजिकै बसाइसराई जान थालेपछि गाउँमा बसोबास गर्ने नागरिक कम छन् । अहिले भने भ्युटावर निर्माणको योजना परेपछि जग्गा खरिद गर्न ग्राहकहरु आउने गरेको स्थानीय निसार अहमदले बताउनु भयो ।

भ्युटावर निर्माण गरिने क्षेत्रमा पार्क लगायतका विभिन्न पर्यटकिय पूर्वाधार निर्माण गर्ने समितिको योजना छ । समितिले अबको पाँच वर्षभित्र काम सक्ने गरी निर्माण कार्य अगाडी बढाएको जनाएको छ । भ्युटावर निर्माण क्षेत्रमा अन्य पूर्वाधार विकासका लागि स्थानीय बसन्तराम ठाडा, चेतनाथ पंगेनी, विष्णुबहादुर सेनबाट दुई÷दुई आना जग्गा सहयोग र्गनु भएको छ । समितिका अध्यक्ष रानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रहिम मियाँले र्गनु भएको हो । पण्डित चेतनाथ पंगेनीले वैदिक विधिबाट पुजापाठ गराएर टावरको सिलन्यास गरिएको कार्यक्रममा स्वागत रामपुर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष एकबहादुर नेपालीले गर्नु भएको थिए ।