रामपुरमा सूचीकृत मेलमिलापकर्ताहरुको पुर्नताजगी तालिम सम्पन्न

बन्दना पाेखरेल   ५ चैत्र २०७७, बिहीबार ०६:४२

पाल्पा, रामपुर नगरपालिकाले नगरपालिकामा सूचीकृत मेलमिलापकर्ताहरुको लागि ३ दिने पुर्नताजगी तालिम प्रदान गरेको छ ।

मेलमिलापकर्ताहरुलाई थप जागरुक गराई न्यायिक सेवालाई प्रभावकारी बनाउन रामपुर नगरपालिकाले तालिम प्रदान गरेको हो ।तालिममा सहभागी मेलमिलापकर्ताहरुलाई तालिम पश्चात प्रमाणपत्र हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले जिम्मेवार भएर सबैको जित हुने गरी न्यायिक सेवामा लाग्न आग्रह गर्नुभयो । उहाँले मेलमिलापकर्ताहरुको लागि न्यायिक सेवामा आवश्यक सेवा र सामाग्री प्रदान गर्ने बताउँनुभयो । उहाँले समाजमा हुने आपसी झगडा र द्वन्द व्यवस्थापनमा जनप्रतिनिधि तथा न्यायिक समितिले पनि पूर्ण रुपमा साथ दिने बतानुभयो ।

रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष एवं नगर प्रवक्ता हुमनाथ न्यौपानेले नगरपालिकाको वडाहरुले मेलमिलाप कर्तालाई पूर्ण रुपमा सहयोग गर्ने बताउनुभयो । उहाँले समाजमा हुने झैझगडा न्युनिकरण गरि सभ्य र झगडा मुक्त समाज निर्माणमा मेलमिलापकर्ताहरुको महत्वपुर्ण भुमिका हुने बताउनुभयो । कार्यक्रममा मेलमिलापकर्ता अर्जुन प्रसाद रेग्मी र सञ्जु परियारले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा रुपान्तरण गरेर अघि बढ्ने बताउनु भएको थियो ।

होटेल नमस्तेको सभाहलमा सोमबार देखि बुधबार सम्म भएको तालिमममा रामपुर नगरपालिकाका १० वटै वडाका ३० जनाको सहभागीता रहेको थियो । तालिमको सहजीकरण रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला, रामपुर नगरपालिकाका मेलमिलापकर्ता कपिल बहादुर खाँण, पत्रकार सीता डोटेल र न्यायिक समितिका सदस्य विष्णु प्रसाद बस्यालले गर्नु भएको थियो ।रामपुर नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक विष्णु देवी घिमिरे आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा न्यायिक समितिका सदस्य पार्वती परियारले धन्यवाद ज्ञापन गर्नु भएको थियो । सञ्चालन न्यायिक समितिका सदस्य सचिव पुजा परियारले गर्नु भएकाे हाे ।