
पाल्पा, रामपुर नगरपालिकामा आगामी चैत्र १० गते देखि १४ गते सम्म ‘चौथो मेयर कप-२०७७’ हुने भएको छ । ‘खेलाडीको पहिचान अनि सम्मान, खुशी र स्वस्थ्य जीवनमा मेयर कपको अभियान’ भन्ने नाराका साथ नगर खेलकुद विकास समिति रामपुरले चौथो संस्करणको मेयर कप सञ्चालन गर्न लागेको हो ।
नगर खेलकुद विकास समितिले शुक्रबार मटेरी खेल मैदानमा पत्रकार सम्मेलन गरी मेयर कप सञ्चालन मिति, मेयर कपमा हुने खेलका विधा र पुरस्कार राशी सार्वजनिक गरेको छ । विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमका सहित सञ्चालन हुने मेयर कपमा यस वर्ष नगर भित्रका खेलाडीहरु विच ७ वटा विधामा प्रतिस्पर्धा हुने खेल संयोजक किरण मल्लले जानकारी गराउनु भएको छ। खेल सम्योजक मल्लका अनुसार यस वर्ष वडा स्तरिय पुरुष भलिबल, वडा स्तरिय महिला भलिबल, वडा स्तरिय पुरुष फुटबल, वडा स्तरिय पुरुष क्रिकेट, व्याटमिण्टन, वडा स्तरिय डोरी तान्ने प्रतियोगिता र माध्यमिक तह स्तरिय वक्तृत्वकला प्रतियोगिता हुनेछन् ।
नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँणको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष खाणँले बोल्दै मेयर कपको उद्देश्य, प्रतियोगिताको पुरस्कार राशी, नियमहरु सार्वजनिक गर्नु भएको हो । र उहाँले विगतका गल्तीहरुलाई सच्याएर अघि बढ्ने समेत बताउनु भएको छ । उहाँले मेयर कपमा नगर भित्रका खेलाडीहरुले आफ्नो वडा बाट सहभागीता जनाउन सक्ने बताउनुभयो ।
प्रतियोगितामा पुरुष भलिबल अन्तर्गत प्रथम, द्धितिय र तृतियले क्रमश नगद ६० हजार, ४० हजार र ३० हजार, वडा स्तरिय महिला भलिबल अन्तर्गत प्रथम, द्धितिय र तृतियले क्रमश नगद ५० हजार, ४० हजार र ३० हजार, वडा स्तरिय पुरुष फुटबल अन्तर्गत प्रथम, द्धितिय र तृतियले क्रमश नगद ६५ हजार, ४५ हजार र ३० हजार सहित मेयर कप, शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।वडा स्तरिय पुरुष क्रिकेट अन्तर्गत विजेता, उपविजेता, फेयर प्ले टीम र म्यानअफ दि म्याचले क्रमश नगद ५० हजार, ३५ हजार र २५ हजार, ८ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र, व्याटमिण्टन अन्तर्गत प्रथम, द्धितिय र तृतियले क्रमश नगद २० हजार, १५ हजार र १० हजार सहित शिल्ड मेडल र प्रमाण पत्र, वडा स्तरिय डोरी तान्ने प्रतियोगिता अन्तर्गत प्रथम, द्धितिय र तृतियले क्रमश नगद १५ हजार, १० हजार र ८ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र र माध्यमिक तह स्तरिय वक्तृत्वकला अन्तर्गत प्रथम, द्धितिय र तृतियले क्रमश नगद ५ हजार, ३ हजार र २ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
खेल संयोजक किरण मल्लको स्वागतबाट सुरु भएको पत्रकार भेटघाट कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि थापाले बोल्दै नगर बाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुगेका खेलाडीलाई पुरस्कृति गर्दै, स्थानीय प्रतिभाको उजागरका लागि खेल प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । भेटघाट कार्यक्रमको सन्चालन सचिव सञ्जु परियारले गर्नु भएको हो ।