रामपुर नगरपालिका ८ भुजातमा मौरीघार वितरण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

बन्दना पाेखरेल   ११ चैत्र २०७७, बुधबार ०५:३९

पाल्पा, रामपुर नगरपालिका ८ भुजातमा मौरीघार वितरण तथा मौरीपालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । मौरी पकेट कार्यक्रम अन्तर्गत अकलामहादेवी कृषक समुहको आयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।

मौरी पकेट कार्यक्रम मार्फत १९ जना कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ५० वटा गोला सहितको मौरीघार वितरण गरिएको हो । मौरीघार वितरण संगै कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले निर्वाहमुखी प्रणाली बाट व्यवसायीक तर्फ लाग्न कृषकहरुलाई आग्रह गर्नुभयो । महको बजार बढ्दो रहेको भन्दै यसलाई थप व्यवस्थित गरेर अघि बढ्नु आवश्यक रहेको बताउनुभयो ।
सल्लाहाकार त्रिलोचन अधिकारीको स्वागत सुरु भएको कार्यक्रममा रामपुर नगरपालिकाका आर्थिक विकास समिति संयोजक एवं रामपुर नगरपालिका ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले रामपुरमा मौरीको प्रचुर सम्भावना रहेको बताउनुभयो । उहाँले मौरीपालन सम्बन्धी आफ्नो अनुभव कृषकहरु समक्ष राख्दै मौरी व्यवसाय बाट राम्रो आम्दानी लिन सकिने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका कृषि शाखा अधिकृत रामहरी पाण्डेयले कृषकहरुलाई प्राविधिक ज्ञानको बारेमा जानकारी गराउनु भएको थियो ।रामपुर नगरपालिका बाट सञ्चालित मौरी पकेट कार्यक्रममा सहभागी कृषकहरुलाई मौरी स्रोत केन्द्र चापाकोटका गोपाल प्रसाद घिमिरेले मौरीपालनको बारेमा प्रशिक्षण दिनु भएको थियो । अकलामहादेवी कृषक समुहका अध्यक्ष सागर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम र पिताम्बर बस्यालको सञ्चालनमा भएको हो ।