कृषकहरुलाई अनुदानमा कृषि औजार वितरण

बन्दना पाेखरेल   १३ चैत्र २०७७, शुक्रबार १३:५२

पाल्पा, रामपुर नगरपालिकाले कृषकहरुलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रम मार्फत मागको आधारमा नगर भित्रका कृषि सहकारी, कृषक समूह र कृषि फर्महरुलाई सामाग्री वितरण गरेको हो ।

सामाग्री हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कृषकहरुलाई व्यवसायिक बन्न आग्रह गर्नुभयो । प्राप्त सामाग्रीको सही सदुपयोग गर्न अनुरोध गर्दै अब निर्वाहमुखी कृषि बाट माथि उठ्नुको विकल्प नभएको बताउनुभयो । कार्यक्रममा कोभिड विशेष कृषि कार्यक्रम व्यवस्थापन समितिका संयोजक एवं रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले उर्वरभूमी रामपुरमा कृषि क्षेत्रको ठूलो सम्भावना रहेको बताउँदै प्राविधिकहरु संग आवश्यक सल्लाह लिएर अघि बढ्न अनुरोध गर्नुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, कोभिड विशेष कृषि कार्यक्रम व्यवस्थापन समितिका संयोजक एवं रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाल, रामपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपाने र सदस्य बालकुमारी थापा, लेखाअधिकृत रेणुराम ज्ञावलीले हस्तान्तरण गर्नु भएको थियो । कृषि शाखामा विहिबार एक कार्यक्रम गरी नगरपालिकाले मिनी टिलर, च्याप कटर र रिपर हस्तान्तरण गरेको थियो ।

रामपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक एवं वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले नगरपालिका कृषकहरुको पक्षमा रहेको बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत नागिलाको अध्यक्षतामा भएको कार्यक्रम, आर्थिक विकास समितिका संयोजक न्यौपानेको स्वागत र रामपुर नगरपालिका कृषि शाखा अधिकृत रामहरी पाण्डेयको सञ्चालनमा भएको हो । कृषि शाखा अधिकृत पाण्डेयका अनुसार ३५ हजार नबढ्ने गरी ५० प्रतिशत अनुदानमा ५४ जना कृषकहरुको लागि ३५ वटा मिनी टिलर, १६ वटा च्याप कटर, १ वटा रिपर वितरण गरिएको जानकारी दिनुभयो ।