नागरिकलाई छैन स्ट्रेचर , जनप्रतिनिधि चढ्दै महँगा गाडी

  २६ आश्विन २०७७, सोमबार १६:४९

कालिकोट – जिल्लाको तिलागुफा नगरपालिकामा ५ मंसिर ०७५ मा नेपाल वातावरण समूहले आयोजना गरेको ‘दलितका समस्या विषयक’मा अन्तर्क्रिरया कार्यक्रममा नगरपालिका वडा नम्बर ३ का दलित महिला वडा सदस्य सम्झना दर्जीले बिरामी बोक्ने स्ट्रेचरको माग गर्नुभयो ।

‘हामीलाई कुनै अ ? सुवधिा चाहिएको छैन,’ उहाँले अन्तर्क्रिरया कार्यक्रममा भन्नुभएको थियो, ‘एउटा स्ट्रेचर भएको भए बिरामी बोक्नलाई सजिलो हुने थियो । त्यो नगरपालिकाले व्यवस्था गरोस् ।’

दर्जीले स्ट्रेचर माग गरेको दुई वर्षमा पनि उहाँको वडामा स्ट्रेचर आइपुगेको छैन । तर, नगरपालिकाका प्रमुखलाई एउटा स्कार्पियो गाडी र वडाध्यक्षहरूलाई एक–एकवटा मोटरसाइकल आइपुगेको छ ।

दर्जीले माग गरेको स्ट्रेचर आइपुगेको वा नपुगेको विषयमा झन्डै दुई वर्षपछि मोबाइलमा फोन गरेर तपाईंले माग गरेको स्ट्रेचर आइपुग्यो कि पुगेन ? भनी प्रश्न गर्दा त्यो कार्यक्रममा भनेको कुरा आज तपाईंलाई किन याद आयो ? भन्ने जवाफ उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कहाँ स्ट्रेचर आउनु, मेयर र वडाध्यक्षलाई गाडी र मोटरसाइकल आएका छन् । हामीलाई स्ट्रेचर आइपुगेको छैन ।’

दर्जीले आफूहरूलाई स्ट्रेचर अझै आवश्यक रहेकाले त्यसको व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो । ‘स्ट्रेचरको व्यवस्था तपाईंले मिलाइदिने हो भने दुईवटा जति चाहिएको छ,’ यहाँले भन्नुभयो, ‘पठाइदिन पहल गरिदिनुहोला ।’

गत बिहीबार कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ५ रुप्सानिवासी २३ वर्षीया मंगला सहकारीलाई सुत्केरी बेथा लाग्यो ।

सुत्केरी बेथा लागेपछि गाउँमा स्ट्रेचर नहुँदा कपडासहित एउटा काठमा बाँधेर उनलाई स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमा नै छोरीलाई जन्म दिइन् ।

कालिकोट जिल्लाका ६ वटा गाउँपालिका र तीनवटा नगरपालिकाले अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख र वडाध्यक्षलगायतका जनप्रतिनिधिलाई सवारीसाधन अनिवार्य बनाएका छन् ।

सडक नै नभएका गाउँमा स्थानीय तहमा समेत सवारीसाधनको मोह बढेको छ । गाउँपालिका अध्यक्ष तथा नगरपालिकाका प्रमुखहरूले महँगा गाडी चढ्ने गरेका छन् भने वडाध्यक्षहरूले मोटरसाइकल चढ्ने गरेका छन् ।

जिल्लाको खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डे, रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बराल र तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीलाई चढ्नका लागि महँगा गाडी खरिद गरेका छन् ।

वडाध्यक्षहरूका लागि रास्कोट नगरपालिकाले गत आर्थिक वर्षमा १६ वटा मोटरसाइकल र नगर प्रमुखका लागि गाडी खरिद गरेको छ ।

त्यस्तै, तिलागुफा नगरपालिकाले नगरप्रमुखका लागि गाडी र वडाध्यक्षका लागि १२ वटा मोटरसाइकल खरिद गरेको छ ।

खाँडाचक्र नगरपालिकाले गत आर्थिक वर्षमा नै नगरप्रमुखका लागि गाडी खरिद गरेको नगरपालिकाले जनाएको छ ।

सडक नै नभएका ठाउँमा जिल्लाका शुभकालिका गाउँपालिका, नरहरिनाथ गाउँपालिका, पचाल झरना गाउँपालिका र पलाता गाउँपालिकामा एक मिटर सडकमा गाडी गुड्दैनन् । ती गाउँपालिकामा समेत सवारीसाधन खरिद गरिएका छन् ।

नरहरिनाथ गाउँपालिकामा एक मिटर सडक नै नबनेको र गाउँपालिका अध्यक्षका लागि बोलेरो जिप र केही वडाध्यक्षका लागि सवारीसाधन खरिद गरिएको गाउँपालिका एक कर्मचारीले नाम नबताउने सर्तमा बताउनुभयो ।