पाल्पा, एकिकृत मगर उत्थान समाज रामपुरको आयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिमको एक कार्यक्रमको विच समापन गरिएको छ । रामपुरमा गत शुक्रबार बाट सुरु भएको ५ दिने उद्घोषण तथा पत्रकारिता सम्बन्धी तालिम सम्पन्न एक कार्यक्रम गरि सम्पन्न गरीएको छ ।
एकिकृत मगर उत्थान समाजका सचिव राम बहादुर रानाको स्वागत बाट सुरु भएको समापन कार्यक्रमको प्रमुख अतिथि रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापा रहनु भएको हो । नगर प्रमुख थापाले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण संगै भित्तेपात्रो विमोचन गर्दै रामपुर संस्कृति र संस्कारको नाममा रहेका विकृतिलाई हटाउँदै आफ्नो अधिकार स्थापित गर्नमा लाग्न मगर समुदायलाई आग्रह गर्नुभयो । उहाँले मगर समुदाय आफैमा संस्कृतिमा धनी रहेको भन्दै त्यसको जगेर्ना गरी अब आत्मनिर्भर बनाउन तर्फ अग्रसर हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले पछाडी परेका समुदायहरुको उत्थानका लागि कार्यक्रमहरु सञ्चालन गर्न नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । समापनको अवसरमा एकिकृत मगर उत्थान समाज र नेपाल मगर संघ रामपुरले आफ्ना गतिविधि समावेश गरी प्रकाशन गरेको भित्ते पात्रो विमोचन संगै नयाँ वर्षको अवसरमा शुभकामना आदनप्रदान गरिएको थियो ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले संस्कृतिको जगेर्ना संगै जीवनस्तर सुधारमा लाग्न आग्रह गर्नुभयो । नेकपा एमालेका जिल्ला कमिटी सदस्य एवं रामपुर नगर इन्चार्ज राजु प्रसाद श्रेष्ठले आरक्षण मात्र होईन की खुल्ला रुपमा प्रतिस्पर्धा गर्छु भन्ने साहसका साथ जनजाति समुदाय अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस रामपुरका नगर सचिव चिरञ्जीवि सिग्देलले सिकेका तालिमलाई व्यवहारमा लागु गर्नु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्ल, नेपाल मगर संघ लुम्बिनी प्रदेशका सदस्य क्याप्टेन धन बहादुर रानाले मगर समुदायको ऐतिहासिक पृष्ठभूमीको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा नेपाल मगर संघ रामपुरका सल्लाहाकार संयोजक बोम बहादुर थापा, एकिकृत मगर उत्थान समाजका अक्षयकोष संयोजक क्याप्टेन देव बहादुर थापा मश्राङ्गी, एकिकृत मगर उत्थान समाजका सल्लाहाकार सदस्य भोग बहादुर चिदी, प्रमुख प्रशिक्षक पत्रकार एवं अधिवक्ता मनोज घर्ती मगरले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न सके मात्र तालिमको औचित्य पुरा हुने बताउनुभयो । एकिकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष राम बहादुर हिस्की थापाले आफ्ना आवाज सम्बन्धीत ठाउँ राख्न सक्ने बनाउनका लागि तालिम सञ्चालन गरिएको जानकारी दिदै आगामी दिनमा भाषा, संस्कृतिको संरक्षण र प्रवर्दन गर्दै आर्थिक स्तर उकास्ने कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताउनुभयो । कार्यक्रममा तालिमका सहभागीहरु एविता चिदी, जमुना राना, कमल राना, जमुना थापा, अनिता राना, मुना दिसुवा, हुममायाँ राना, हरि रानाले आफ्नो अनुभव मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा कार्यक्रममा एकिकृत मगर उत्थान समाजका सह–अध्यक्ष नरेन्द्र कुमार जर्घाले समाजको गतिविधिका बारेमा जानकारी दिनु भएको कार्यक्रममा तालिमका प्रशिक्षकहरु मनोज घर्ती मगर, दिल बहादुर घर्ती मगर र इमान सिं राना मगरलाई सम्मान गरिएको थियो । होटेल न्यू श्रीनगरमा चैत्र २७ गते देखि सञ्चालन भएको तालिममा मगर समुदायका १ सय २० जनाको सहभागीता रहेको थियो । एकिकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष राम बहादुर हिस्की थापाको अध्यक्षतामा भएको कार्यक्रम, र सहसचिव सुनिता राना, मगर रेन्जा समुह रामपुर ४ का अध्यक्ष विमल रानाको सञ्चालनमा भएको हो ।