
१० बैशाख २०७८, शुक्रबार पाल्पा, रामपुर नगरपालिकाका दुई वटा ठूला बचत तथा ऋण सहकारी संस्थाहरुले एकिकरण गरेर एकिकृत संयुक्त रुपमा कारोबार गर्न थालेको छ । २०५५ सालमा स्थापना भएको अन्धकार मुक्ति र २०६८ मा स्थापना भएको सहयोगी सहकारीले एकिकरण गरेर अन्धकारका मुक्तिको नाम बाटै संयुक्त रुपमा कारोबार सुरु गरेको हो । राज्यको सहकारीलाई एकिकरण गरि सख्ंयात्मक रुपमा घटाउने र गुणात्मक रुपमा उत्कृष्ट वनाउने उद्धेश्य अनुरुप दुई सहकारी एक बनेको हो ।
पाल्पाको रामपुर नगरपालिका, निस्दी, पूर्वखोला र रम्भा गाउँपालिकालाई सेवा क्षेत्र बनाउँदै आएको अन्धकार मुक्ति बचत तथा ऋण सहकारीले प्रधान कार्यालय रामपुर संगै अन्य ४ वटा सेवा केन्द्र मार्फत झण्डै ९ हजार शेयर सदस्यहरुलाई वित्तिय सेवा प्रदान गर्दै आएको थियो । सहयोगी बचत तथा ऋण सहकारीले करिव ४ हजार सेयर सगँै बेझाँड बजार बाट रामपुर नगरपालिका भित्र वित्तिय सेवा प्रदान गर्दै आएको थियो । एकिकरणका प्रक्रिया थालनीको एक वर्ष पश्चात गत चैत्र १९ गते लुम्बिनी प्रदेशका कृषि तथा सहकारी मन्त्री आरती पौडेल मार्फत प्रमाण पत्र लिएर शुक्रबार देखि एकिकृत कारोबार शुभारम्भ गरेको भएको हो । यस संगै सहयोगी बचत तथा ऋण सहकारीको कार्यालय बाट अन्धकार मुक्ति साकोसले सहयोगी सेवा केन्द्रको नाम बाट सेवा प्रदान गर्ने भएको छ ।
स्वागत तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले दुवै सहकारीको कार्यक्षेत्र र उद्देश्य एउटै भएकाले थप मजबुत भएर जान एकता गरिएको बताउनुभयो । उहाँले यस बाट डुब्लीकेशनको समस्या हल भएर जाने बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवि घिमिरे आचार्यले व्यानरमा हस्ताक्षर गरेर एकिकरण कार्यक्रम शुभारम्भ गर्नु भएको थियो । कारोबारको शुभारम्भ गर्दै उपप्रमुख घिमिरे आचार्यले दुई ठूला सहकारीहरु एकिकरण भएर देशै भरको लागि सकारात्मक सन्देश प्रदान गरेको बताउनुभयो । उहाँले सहकारीहरुले स्थानीयलाई आफै ऋणी मात्र नभई आफै मालिक बन्ने अवसर प्रदान गरेको बताउँदै सहकारीहरुको संख्या धेरै हुनु भन्दा पनि गुणात्मक हुनु आवश्यक रहेको बताउनुभयो । राज्य अहिले कोभिड–१९ विरुद्धको अभियानमा छ र यो विषम परिस्थितीमा सबैले आआफ्नो ठाउँ बाट सहयोग गर्न आग्रह पनि गर्नुहुदै स्वास्थ्यका मापदण्ड पुरा गरेर यात्रा गर्न आग्रह समेत गर्नु भएको छ ।
कार्यक्रममा सहयोगी बचत तथा ऋण सहकारी संस्थाका सल्लाहाकार केशर बहादुर खाँणले प्रतिष्ठित सहकारी संग एकिकरण हुन पाउनु सहयोगी सहकारीको लागि खुशीको कुरो रहेको बताउँदै अन्य सहकारीहरु पनि एकिकरण जानु आवश्यक रहेको बताउनुभयो । सहयोगी बचत तथा ऋण सहकारीका सचिव रामप्रसाद ढकालले एकै प्रकृतिको दुईवटा संस्थामा बस्न नमिल्ने सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यका साथ भएको एकिकरणले दुवै तर्फ सदस्य भएको व्यक्तिहरुलाई सहज भएको बताउनुभयो । अन्धकार मुक्ति बचत तथा ऋण सहकारीका लेखा समिति संयोजक विष्णु प्रसाद लम्सालले आर्थिक र शैक्षिक विकासमा सहकारीको योगदान ठूलो भएको बताउँदै संस्था जसरी ठूलो भएको छ त्यसरी नै मन ठूलो बनाएर जान आग्रह गर्नुभयो ।
कार्यक्रममा सहयोगी बचत तथा ऋण सहकारीका सदस्य सरस्वती डोटेल र अन्धकार मुक्ति बचत तथा ऋण सहकारीका सदस्य लक्ष्मी ढकालले सहकारीलाई थप सफलताको शुभकामना दिनुभएको थियो । अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले सहकारीले नगर भित्र छरिएर रहेका स–साना सहकारीहरुलाई एकित्रित गरेर अघि बढ्ने रणनीति लिएको रहेको र यो पहिलो कदम हो भन्नु भएको छ ।संस्था एकिकरण कार्यदलका संयोजक एवं अन्धकार मुक्तिका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेले एकिकरणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको थियो ।
अन्धकार मुक्ति साकोसको अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा १ अर्व ११ करोड पुँजी रहेको अन्धकार र ७ करोड पुँजी रहेका सहयोगी बचत तथा ऋण सहकारी एकता भए संगै सहकारीको कुल पुँजी १ अर्व १८ करोड ९१ लाख ६५ हजार ७० पुगेको जानकारी गराईएको छ । अन्धकार मुक्ति बचत तथा ऋणको सदस्य संख्या झण्डै १० हजार ५ सय पुगेको संस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो र सहयोगी बचत तथा ऋण साकोसको करिव ४ हजार सेयर सदस्य रहेका छन् कार्यक्रम सचिव ओम प्रकाश बस्यालको सञ्चालनमा भएको हो ।




