पाल्पा,१५ बैशाख २०७८, पाल्पामा बैशाख १७ देखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ । बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसिएमसि) को बैठकले वैशाख १७ गते राती १२ बजेदेखि वैशाख २४ गते सम्मको लागि निषेधाज्ञा जारी गरेको छ ।
जिल्लामा दोस्रो चरणको नयाँ भेरियन्ट सहित संक्रमितको संख्या वृद्धि भएको भन्दै सम्भावित जोखिमलाई मध्यनजर गरेर निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा लागु गर्ने संगै (डिसिसिएमसि) को बैठकले विभिन्न निर्णयहरु पनि गरेको छ । निषेधाज्ञाको समयमा औषधी उपचार तथा अत्यवाश्यक काम बाहेक घर बाहिर निस्किन पाउने छैन ।
भिडभाड हुने खालको सम्पूर्ण गतिविधि सञ्चालनमा निषेध गर्ने निर्णय गरेको छ । त्यस्तै सवारी साधनको हकमा एम्बुलेन्स, दमकल, शववाहन, अत्यनवश्यक खाद्य सामाग्री, तथा पशुपंक्षिका दाना, दुध फलफुल, तरकारी, मासु, पानी ग्यास, पोट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधन, औद्योगिक कच्चा पदार्थ बोकेका साधन, चिकित्सक तथा स्वस्थ्य कर्मीले ड्युटी जान आउन प्रयोग गर्ने सवारी, औषधी बोकेका सवारी, अत्यावश्यक सरकारी कामकाजको लागि प्रयोग हुने सवारी, प्रेस पास र परिचय पत्र बाहक सञ्चारकर्मीहरु बाहेकका निजि तथा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएको छ । तर जिल्ला भएर अन्य जिल्लामा जाने सवारीहरुलाई भने यात्रु ओराल्न र चढाउन नपाउने गरी सञ्चालन गर्न दिईने भएको छ । औषधी पसलहरु २४ सै घण्टा संचालन हुनेछ ।
स्वास्थ्य सुरक्षा, संचार, विद्युत, खानेपानी, दमकल, बैंक तथा वित्तिय संस्थाहरु बाट प्रवाह हुने सेवा बाहेक अन्य सरकारी तथा गैर सरकारी कार्यालय बाट प्रदान गरिने सेवा बन्द हुने छन् । अत्यावश्यक दैनिक उपभोग्य खाद्यसामाग्रीहरु दूध, फलफुल, तरकारी, माछा, मासु, पानी, ग्याँस, पेट्रोलियम पदार्थ, निर्माण सामाग्रीका पसलहरु दिनमा एक पटक विहान ६ बजे देखि १० बजे सम्म सञ्चालन गर्न पाउने छ ।
सिनेमा हल, पार्टी प्यालेस, नाचघर, क्लव, जिमखाना, शैलुन तथा व्युटी पार्लर, सुनचाँदी पसल, टेलरिङ्ग, फुटपाथ, पसलहरु बन्द रहने छ । होटेल तथा रेष्टुरेण्टले विहान ६ बजे बाट १० बजे सम्म मात्र टेक अवे सेवा सञ्चालन गर्न सक्नेछ । पाल्पामा अहिलेसम्म एक सय ९८ सक्रिय संक्रमित पुगेका छन् भने १६ जना अस्पतालमा उपचार भइरहेको छ । १ सय ८२ जना होम आईसोलेशनमा रहेका छन् । जिल्लामा कोभिड बाट हाल सम्म ३९ जनाको मृत्यु भइसकेको छ ।