
रामपुर, २१ बैशाख २०७८ कोरोना संक्रमणको जोखिमबाट बच्न पाल्पामा जारी निषेधाज्ञाले बजार ठप्प बनेको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले वैशाख १७ गते शुक्रबार मध्यरातदेखि वैशाख २४ गते मध्यरातसम्म कायम रहने गरी बजार, यातायात र अन्य सेवा सम्बन्धमा आदेशहरू जारी गरेको छ ।
खाद्यान्न, तरकारी, दुध तथा माछामासु, पानी, ग्याँस, पेट्रोलियम पदार्थ र निर्माण सामग्रीका पसलहरु, होटेल तथा रेष्टुरेण्टहरु विहान ६ बजे देखि ११ बजे सम्म मात्र खुल्ला रहने छ । स्वास्थ्य, संचार, विद्युत, खानेपानी, बैंक तथा वित्तिय संस्थाहरु बाट प्रवाह हुने सेवाहरु बाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालयबाट प्रदान गरिने सबै प्रकारका सेवाहरु बन्द रहने छ भने मेडिकल तथा क्लीनिकहरु २४ सै घण्टा सञ्चालन गर्न पाईन्छ । निषेधाज्ञालाई मध्यनजर गर्दै प्रहरी परिचालन गरिएको छ । रामपुर क्षेत्रका विभिन्न चोक र बजार क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।
प्रशासनले निषेधाज्ञाको समयमा विनाकाम घर बाहिर ननिस्कन आग्रह गरेको थियो । अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक यातायातहरु सञ्चालन नगर्न अनुरोध गरेको छ ।
निषेधाज्ञाको चौथो दिन (बैशाख २१) रामपुरको बेझाँड बजार संगै आसपासका किसानबारी, विजयपुर, तिलकपुर, सदावर्त, रजघरा, किर्तिपुर, गण्डकी ढिक, भलायटार क्षेत्रका बजारमा पनि निषेधाज्ञाको पूर्ण पालना गरेको पाईएको छ ।
निषेधाज्ञपछि पाल्पा रामपुरकाे अवस्था यस्तो देख्यौँ तस्बिरहरूः प्रेमकान्छा मगर