
३१ बैशाख २०७८ रामपुर, रामपुर युवा क्लब रामपुर पाल्पाले कोभिड बिरामीलाई निःशुल्क खाना वितरण कार्य सुरु गरेको छ । क्लबले रामपुर अस्पतालमा उपचाररत संक्रमित, उपचारमा खटिने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई विहान बेलुका निःशुल्क खाना वितरण कार्यको सुरुवात गरेको हो ।
अस्पताल परिसरका होटल व्यवसायीहरुले संक्रमणको जोखिम हुने भन्दै खाना खुवाउन नसक्ने बताएसंगै क्लबले उक्त कार्य सुरु गरेको क्लबका अध्यक्ष छम दरैले बताउनुभयो । उहाँले भन्नुभयो, “संक्रमितलाई यो अवस्थामा झन पोषिलो खाना पटक पटक खुवाउनु पर्ने हुन्छ, अस्पताल परीसरका होटल व्यवसायीले संक्रमितलाई खाना खुवाउन सक्दैनौँ भन्ने गुनासो सर्वसाधारणबाट सुनेपछि क्लबका सदस्यहरुको सक्रियतामा आफ्नो ठाँउबाट आफुले सक्ने गरौँ भन्ने सेवा भावले खाना खुवाउन आयौँ ।” रामपुर अस्पातल प्रमुख डा. विजय परीयारले अस्पातलमा उपचाररत कोभिड बिरामी तथा उपचारमा खटिएका स्वास्थ्यकर्मिलाई बिहान बेलुका निःशुल्क खाना खुवाउने खुवाउने जस्तो राम्राे कार्यको सुरुवात गरेकोले क्लबलाई धन्यवाद दिदै विषम परिस्थितीको एक जुट भई सामना गर्नुपर्ने बताउनुभएको छ। उहाँले भन्नुभयो “रामपुर अस्पतालको निर्माणाधिन भवनमा हालै अक्सिजन सहितको १० शैयाको कोभिड वार्ड बनाइ हिजोदेखी कोभिडका बिरामीलाई सेवा दिन सुरु गरेका छौँ, वार्डमा अहिले २ जना संक्रमित २ जना संक्रमितका कुरुवा ३ जना स्वास्थ्यकर्मि, १ जना गार्ड र एक जना वार्ड सहयोगी गरी जम्मा ९ जना हुनुहुन्छ भने एक सामान्य अवस्थाको संक्रमित डिस्चार्ज भैसकेको छ । अन्य २ विरामीलाई अक्सिजनको आवश्यकता रहेको हुँदा उहाँहरु वर्डमै हुनुहुन्छ । हाललाई उहाँहरुको अवस्था त्यती जटिल छैन ।” डा. परियारले यस्तो महामारिमा सेवा भावले क्लबले गरेको कार्यप्रती अस्पताल परिवार आभारी रहेको बताउनुभयो ।
यसैगरी क्लबका सक्रीय सदस्य डा. शंकर श्रेष्ठको विशेष पहलसंगै अन्य सदस्यहाँरुको सक्रियतामा कोभिड बिरामी तथा स्वास्थ्यकर्मिलाई बिहान बेलुका दैनिक निःशुल्क खाना खुवाउने बताउदै आज यस अभियानको पहिलो दिन खाना संगै ९ वटा साबुन र ९ सेट टुथपेस्ट र ब्रस समेत हस्तान्तरण गरेको क्लबका सचिव सुन्दर कंडेल ले बताउनुभयो ।
तस्बिरः डा.शंकर श्रेष्ठकाे फेसबुकबाट