
३१ बैशाख २०७८, रामपुर, इस्लाम धर्मावलम्बीहरुको महान चाड इद–उल–फितर आज रामपुर सहित देशभरीका मुसलमानहरुले हर्षोउल्लासका साथ मनाइदै छ । हिजरी क्यालेण्डर अनुसार नवौँ महिना रमजानमा १ महिने रोजा (वर्त) समाप्त भएको खुसियालीमा दशौँ महिना सौवालको पहिलो तारिखमा यो चार्ड मनाइन्छ ।
इदको दिन मुस्लिम समुदायका वालवालिका, युवायुवती तथा बृद्धबृद्धा समेत इदगाह वा मस्जिदमा उपस्थित भई नमाज पढ्ने र आपसमा शुभकामना आदानप्रदान गरी मनाइन्छ । आपसी सौहार्द, मेलमिला र सद्भावको प्रतिक यस पर्वमा मानिसहरु बिहानै नुवाइधुवाई गरी गच्छे अनुसारका नयाँ कपडा लगाई इदागाह वा मस्जिदमा जाने र नमाज पढी एकअर्काको घरमा गइ मिठामिठा खानेकुराका परीकारहरु खाई इदको शुभकामना साटासाट गरिन्छ ।
रामपुर नगरपालिका वडा नं ४ इस्लामपुरमा दुई वटा मस्जिदहरुमा विहान ठिक ६ः३० बजे इदको नमाज पढिएको छ । विगतका वर्षहरुमा इदको नमाजमा महिलाहरु समेत सहभागि हुदै आएकोमा यस वर्ष भने विश्वव्यापीरुपमा फैलिएको कोरोनारुपी महामारीको कहर र यसबाट बच्न अवलम्बन गरिएका सुरक्षाका मापदण्डहरुलाई पालना गर्दै भिडभाड हुन नदिन महिलाहरुलाई घरघरमा नमाज पढ्न अनुरोध गरियो भने मस्जिदमा उपस्थित भएका पुरुषहरुले सामाजिक दुरी कायम गरी मास्क र सेनिटाइजरको प्रयोग गर्दै नमाज पढेका छन् ।
रामपुरको इस्लामपुर स्थित हजरत बेलाल जामे मस्जिदमा इदको नमाज पढाउदै धर्म गुरु मौलाना अबुल कलामले खुत्बा (नमाज पश्चात मस्जिदबाट जनसमुदायमा दिइने प्रवचन) मा गाँउबासी सबैलाई सम्बोधन गर्दै कोरोना र यसले निम्त्याएको विकराल परिस्थितिबाट आफु बच्न र अरुलाई बचाउनका लागि प्रत्येक व्यक्तिले नेपाल सरकारले लागु गरेका स्वास्थ्यका मापदण्डहरुलाई रत्तिभर लापरवाही नगरी पालना गर्न अनुरोध गर्दै यस इदको पावन अवसरमा विश्वरका मानव समुदायको सुस्वास्थ्य र समृद्धिको लागि दुवा (प्रार्थना) र कामना गर्नुभयो । रमजानको महिनामा जसरी हामी निष्ठा र आस्थाका साथ सत्कर्ममा लाग्यौँ त्यसरी नै आगामी दिनहरुमा समेत आफ्ना कर्महरुलाई निरन्तरता दिदै परिवारीक मेलमिलाप, सामाजिक विकास, सहयोग, सद्भाव, दीनदुखीलाई सहयोग र एक अल्लाहको भक्तिमा लाग्दै लौकिक र पारलौकिक सफलता प्राप्तिमा गर्न र सभ्य समाजको निर्माणमा लाग्न अनुरोध गर्नुभयो ।