ट्राभल डेन्टिस्ट्री नेपाल र रामपुर युवा क्लबले रामपुर अस्पताललाई पिपिई सेट तथा फेस शिल्ड प्रदान

बाेली खबर   २ जेष्ठ २०७८, आईतवार २१:४९

रामपुर, २ जेष्ठ २०७८, ट्राभल डेन्टिस्ट्री नेपाल र रामपुर युवा क्लबले रामपुर अस्पताललाई पिपिई सेट तथा फेस शिल्ड प्रदान गरेको छ । रामपुर अस्पतालको कोभिड वार्डमा कोरोना संक्रमितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको लागि सामग्री प्रदान गरेको हो ।

स्वास्थ्यकर्मीहरुको लागि १५ सेट पिपिई र फेस शिल्ड प्रदान गरेको हो । आईतबार साँझ ट्राभल डेन्टिस्ट्री नेपालका अध्यक्ष शंकर श्रेष्ठ, रामपुर युवा क्लबका सचिव सुन्दर कंडेल, सदस्यहरु नन्द प्रसाद थापा र राजु रायमाझीले संयुक्त रुपमा रामपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर विजय परियारलाई हस्तान्तरण गर्नु भएको हो । कोभिड संक्रमित विरामीहरुको उपचारमा निरन्तर खट्दै आएका स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि पिपिई अभाव नहोस् भन्ने उद्देश्यले पिपिई संगै फेस शिल्ड प्रदान हस्तान्तरण गरिएको ट्राभल डेन्टिस्ट्री नेपालका अध्यक्ष डाक्टर श्रेष्ठले बताउनुभयो ।

रामपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर विजय परियारले सामाग्री ग्रहण गर्दै विषम परिस्थितिमा संस्थाहरुले देखाएको सद्भाव प्रति अस्पताल कृतज्ञ रहेको बताउनुभयो । सामजिक व्यक्ति तथा संघ संस्थाहरुको सहयोगले स्वास्थ्यकर्मीहरुमा उत्साह थपिएको बताउनुभयो ।