
रामपुर, ०६ जेठ २०७८ रामपुर नगरपालिका ५ नं. वडा सहित रामपुरको मुख्य बजार बेझाँडलाई आज राति १२ बजे देखि जेठ १३ गते राती १२ बजे सम्म पूर्ण रुपमा शिल गरिने भएको छ । समुदाय स्तरमा कोरोना संक्रमित तथा विरामीहरुको संख्या बढ्दै जान थाले पछि शिल गर्न लागेको हो ।
वडा समिति, वडा स्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम तथा कार्य समुह, प्रहरी प्रशासन, राजनैतिक दलका प्रमुख, रामपुर उद्योग वाणिज्य संघ, रामपुर बजार व्यवस्थापन समिति, क्लव, पत्रकार लगाएतको सर्वपक्षिय बैठकको सुझाव अनुसार जेठ ६ गते राति १२ बजे देखि, १३ गते राती १२ बजे सम्म पूर्ण रुपमा शिल गर्ने निर्णय गरेको हो । रामपुर ५ का वडा अध्यक्ष हिमाल मल्लले यस अघि निषेधाज्ञा गरिए पनि आवतजावत नरोकिदा निषेधाज्ञा कै विच संक्रमण फैलिएकाले एक हप्ताको लागि थप कडाई गर्न लागेको जानकारी दिनुभयो । उहाँले वडा भित्र पूर्ण रुपमा शिल गरिने र वडाका नाकाहरुमा स्वयम सेवक परिचालन गरेर निगरानी गरिने बताउनुभयो ।
स्वास्थ्य संस्था तथा मेडिकल लगाएतका औषधी व्यवसाय बाहेकका अन्य पसल बन्द गर्नुका साथै हिडडुल गर्न पनि पूर्ण रुपमा निषेध गरिने भएको छ । खानेपानी ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योग बाट उत्पादन भएका वस्तुको ओसारपसार गर्न आवश्यक स्वास्थ्य सुरक्षा मापडण्ड पूर्ण रुपमा पलना गरि सञ्चालन गर्न दिइने वडाले जनाएको छ ।