कालीगण्डकी फाउण्डेशनद्वारा रामपुर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

बाेली खबर   ८ जेष्ठ २०७८, शनिबार ०७:४७

रामपुर,कालीगण्डकी फाउण्डेशन नेपालले रामपुर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोभिड महामारीका विच स्वास्थ्य सेवामा खट्दै आएका स्वास्थ्यकर्मीहरुको सुरक्षा र उनीहरुको मनोबल बढाउनका लागि फाउण्डेशनले पिपिई सेट तथा माक्स प्रदान गरेको हो ।

सामाग्री हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवि घिमिरे आचार्यले नयाँ भेरियन्टको कोभिडको जोखिम उच्च रहेको भन्दै सम्पूर्ण संघ संस्थाहरुलाई सहयोग र सहकार्यमा जुट्न आग्रह गर्नुभयो । रामपुर अस्पताल विकास समितिका अध्यक्ष बासुदेव भट्टराईले फाउण्डेशनले स्थापनाकाल देखि सञ्चालन गर्दै आएको कार्य आफैमा सह्रानिय रहेको बताउनुभयो । उहाँले सम्पूर्ण सामाजिक संस्थाहरुको साथले कोभिडको उपचारमा लाग्नको लागि अस्पताललाई थप उर्जा मिलेको बताउनुभयो । उहाँले सहयोगका लागि जुट्ने सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

फाउण्डेशनले जनप्रतिनिधि, पत्रकारहरुको उपस्थितिमा ७० सेट पिपिई र ५ सय वटा सर्जिकल माक्स प्रदान गरेको हो । कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारी र रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले रामपुर नगरपालिकाका वडा अध्यक्ष हिमाल मल्ल, वडा सदस्य काशीनाथ रेग्मी, अस्पतालका डाक्टर बासुदेव सुवेदी, फाउण्डेशनका उपाध्यक्ष पवित्रा पौडेल ढकाल, सदस्य जीवन तिवारी, पत्रकारहरूकाे उपस्थितिमा रामपुर अस्पताल विकास समितिका अध्यक्ष बासुदेव भट्टराई र रामपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर विजय परियारलाई हस्तान्तरण गर्नु भएको हो ।

रामपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर विजय परियारले कोभिडका लक्ष्यण देखिएका विरामीहरु परिक्षण गर्दा पोजेटिभ देखिने त्रासले घरमै उपचार गर्ने क्रम बढेकाले थप समस्या देखिएको बताउनुभयो । उहाँले अनुमानको भरमा नभई डाक्टरको परामर्श अनुसार औषधी लिन आग्रह गर्नुभयो ।

रामपुर नगरपालिका ५ का वडा अध्यक्ष एवं आईसनेलेशन व्यवस्थापन समितिका संयोजक हिमाल मल्लले महामारीको समयमा चिकित्सकहरुलाई कसरी सुरक्षित र स्वास्थ्य राख्ने चुनौतीको विषय रहेको बताउनुभयो । फाउण्डेशनका अध्यक्ष निलकण्ठ भण्डारीले फाउण्डेशनको आग्रह र संस्थाका सल्लाहाकार सन्दिप रानाको पहलमा प्राप्त स्वास्थ्य सामाग्री सुरुवातमा रामपुर अस्पताललाई प्रदान गरेको बताउनुभयो । भण्डारीले फाण्डेशनले रामपुर नगरभित्रका होम आईसोलेशनमा रहेका कोभिडका विरामीहरुलाई रामपुर अस्पताल सम्म आउनु परेमा एक तर्फी एम्बुलेन्स सेवा निशुल्क प्रदान गर्दै आएको बताउनुभयो । कार्यक्रमको सञ्चालन फाउण्डेशनका सचिव सीता डोटेलले गर्नु भएको थियो ।