जापानमा कार्यरत युवाहरुले दिए रामपुर अस्पताललाई स्वास्थ सामग्री

बन्दना पाेखरेल   १२ जेष्ठ २०७८, बुधबार १९:२४

रामपुर जन्मभूमी भएर सात समुद्र पारि जापानमा कार्यरत युवाहरुले बुधबार रामपुर अस्पताललाई स्वास्थ सामग्री उपलब्ध गराएका छन् । आफ्नो जन्मभूमीका नागरिकहरुको स्वास्थ्य सेवाको आधार रामपुर अस्पताल भएको भन्दै रामपुर जापान सम्पर्क मञ्चले स्वास्थ्य सामाग्री खरिद गरेर उपलब्ध गराएको हो । स्वास्थ्यकर्मीहरुलाई सुरक्षित बनाएर उच्च मनोबलका स्वास्थ्य सेवामा लाग्न अभिप्रेरित गर्न पिपिई सेट, माक्स, सेनिटाईजर, ग्लोब्स तथा उपचारका सामाग्री नेबुलाईजर प्रदान गरेको हो ।

हाम्रो देशमा पछिल्लो समय विदेश जाने युवाको संख्या बढेको छ । देशमा रोजगारको कमीका कारण रोजगारका लागि होस या पढाईका लागि विदेश गएको छन् ।जहाँ रहेपनि मेरो मन त नेपाली हो भने जस्तै आफ्नो देश आफु जन्मेको समाजमा दुख पर्दा सहयोगी मन अगाडि आउने गर्छन् । अमेरिका, युरोप, जापान, खाडी लगाएतका मुलुकमा लाखौं नेपालीहरु कार्यरत छन् । कोरोना भाईरस बाट केही हद सम्म सुरक्षित रहे पनि रोजगारीको शिलशिलमा पुगेका नेपालीहरु पछिल्लो ढुक्कले निदाउन सकेका छैनन् । किन की उनीहरुलाई गाउँघरका समाचारले बैचैन बनाएको छ । स्वदेशमा कोरोना महामारी फैलिरहेकाले छिन् छिन्मा उनीहरु परिवार र आफन्तजनलाई नियमित सम्पर्क गरिरहेका हुन्छन् । नयाँ जानकारी छ की भनेर सामाजिक सञ्जालमा अपडेट भैरहन्छन् ।

जन्मभूमीमा कोरोना बाट हुने क्षति न्यूनिकरणको लागि पछिल्लो समय सक्दो प्रयास गरिरहेका छन् । संघिय, प्रदेश, स्थानीय सरकार तथा स्वास्थ्य संस्थाहरुलाई सहयोग पठाईरहेका छन् । आज जापान रामपुर सम्पर्क मञ्चले धुन मिल्ने १० सेट पिपिई, नेबुलाईजर मेसिन १० थान, नेबुलाईजर किट ३० वटा, ३० लिछर सेनिटाईजर, सर्जिकल माक्स ३० बक्स, ग्लोब्स ७ बक्स र केएन ९५ माक्स २० वटा हस्तान्तरण गरेको हो । समाजसेवी श्रीधर घिमिरे र दामोदर पाठकले रामपुर अस्पतालका फामेर्सी निरिक्षक राम प्रसाद कोईराला, पत्रकार बासुदेव ढकाल, बन्दना पोखरेल लगाएतको उपस्थितिमा रामपुर अस्पताल विकास समितिका अध्यक्ष बासुदेव भट्टराई, सदस्य ईश्वरी देवी खनाल र अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर विजय परियारलाई हस्तान्तरण गर्नु भएको हो ।

सामाग्री ग्रहण गर्दै रामपुर अस्पताल विकास समितिका अध्यक्ष बासुदेव भट्टराईले जन्मभूमी प्रति प्रवासमा रहेका दाजुभाईहरुले देखाउनु भएको सहानुभूतिले आफुलाई भाबुक तुल्याएको बताउनुभयो । रोजगारी तथा अध्ययनको क्रममा जानु भएका दाजुभाईहरुले सामाग्री अभावका विच कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मी र विरामीलाई सामग्री उपलब्ध गराएर पुण्यको कार्य गरेको बताउनुभयो । उहाँले सुरक्षित भएर काम गर्न आग्रह गर्दै प्रगतिको समेत शुभकामना दिनुभयो । रामपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर विजय परियारले प्रवासका नेपाली संगै स्वदेशमा रहेका संघ, संस्था र क्लवहरुको सहयोगले स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाएको बताउनुभयो । कार्यक्रमको सञ्चालन समाजसेवी दामोदर पाठकले गर्नु भएको थियो ।

रामपुर जापान सम्पर्क मञ्चले आफ्नो कोष संगै पदाधिकारीहरु बाट रकम संकलन गरेर पठाएको थियो । मञ्चका सल्लाहाकार पुरुषोत्तम घिमिरेले ७१ हजार ७ सय ५० रुपैयाँले अस्पताललाई आवश्यक स्वास्थ्य सामाग्री खरिद गरिएको जानकारी दिनुभयो । हाल विदामा नेपाल आउनु भएका घिमिरेले शरीर परदेशमा रहे पनि नेपालीहरुको मन आफ्नै गाउँ ठाउँमा रहेको बताउनुभयो । उहाँले रामपुर नगरबासीको जीवन बचाउने आधार रामपुर अस्पताल भएकाले छाक कटाएर स्वस्थ्य सामाग्री सहयोग गरेको जानकारी दिनुभयो । रामपुर जापान सम्पर्क मञ्चका अध्यक्ष उमेश अर्यालले नेपालीहरु प्रवासमा सुरक्षित रहे पनि स्वदेशमा फैलिएको कोरोना महामारीको खबरले आनन्दले निदाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वदेशमा फैलिएको महामारीले नेपालीलाई बेचैन बनाएको छ । काम बाट फर्किएर निदाउँन खोजे पनि गाउँमा केही भयो की भनेर मन आत्तिन्छ । त्यसैले हामी निरन्तर परिवार र आफन्तलाई फोन गरिरहेका छौं । इन्टरनेटका खबरहरु नियालिरहेका छौं ।’ अर्यालले थप्नुभयो, ‘कतिपय नेपालीको रोजगार गुमेको छ तर आफ्ना समस्या भन्दा परिवार र समाजलाई सुरक्षित बनाउन पाए हुन्थ्यो भन्ने ध्यानमा नेपालीहरु छन् ।’उहाँले जन्मभूमीको हरेक समस्यामा प्रवासको नेपाली साथमा रहेको बताउनुभयो ।