
रामपुर १५ जेठ, नेपाल सरकारले यसअघि सर्वे भएको कालीगण्डकी नदीमा जलयान अर्थात पानीजहाज संचालनका निम्ति निर्माण कार्य थालिने बजेटमा उल्लेख गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाट सम्म जलयान संचालनका निम्ति आज ६ वटा समूहले यसअघि नै स्थलगत परिक्षण तथा सर्वे गरेको थियो ।
पाल्पाको राम्दीदेखि देवघाट सम्म एक सय ३५ किलोमिटर जलयान संचालनको योजना बनाइएको छ । अर्थमन्त्री बिष्णु पौडेलले कालीगण्डकीमा जलमार्ग निर्माणको काम यसै वर्ष थाल्ने बताउनुभयो । मन्त्री पौडेलले राष्ट्रिय गौरवको योजनाका रुपमा कालीगण्डकीमा पानीजहाजको अवधारणा अघि सारिएकोले यसलाई सफल बनाउन बजेटमा समावेश भएको संघिय सांसद दलबहादुर रानाले बताउनुभयो । उहाँले कालीनदीको किनारै किनार करिडोर तथा कालीगण्डकीमा पानीजहाज संचालन भयो भने छिमेकी देश भारतसम्म यहाँ उत्पादित सामानलाई बिक्री वितरण लगायत सामान आयात निर्यातमा समेत सहज हुन विश्वास व्यक्त गर्नुभयो ।
सरकारले पाल्पाको सत्यवती मन्दिरलाई धार्मिक पर्यटकिय गन्तव्यका रुपमा विकास गर्ने, रुरुक्षेत्र, भैरवस्थान मन्दिरमा पूर्वाधार विकास गरिने बजेटमा समावेश गरेको छ । ऐतिहासिक तानसेन पुरानो बजारको रुपमा शहरी विकास पूर्वाधार निर्माण तथा रानीघाटमा आधुनिक पूर्वाधार विकास गरिने कुराले पाल्पालाई पर्यटकिय गन्तव्यका रुपमा विकास गरिने अपेक्षा गरिएको छ । त्यस्तै पहिरोग्रस्त क्षेत्रका रुपमा परिचित पाल्पा–बुटवल सडकखण्डको सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा–दोभान खण्डमा सुरुङ्मार्ग निर्माणका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री बिष्णु पौडेलले बजेटमा उल्लेख गर्नुभयो ।
बजेटमा कालीगण्डकी करिडोरको निर्माणकार्यलाई निरन्तरता, पाल्पाको बाँसटारी जोर्ते खण्डको बिस्तृत योजना बनाएर विकास गरिने, कालीगण्डकीको पानीलाई लिफ्टिङ् गरि यसक्षेत्रका फाँटमा सिंचाई गरिने प्रवन्ध गर्ने, सिद्धार्थ राजमार्गलाई डबल ल्याण्डको बनाइने , तानसेन बर्तुङ तथा झुम्साखोला खानेपानी आयोजनाको काम थालिने र पश्चिम पाल्पामा मौसम राडरको कामलाई निरन्तरता र राम्दी तिनाउ डाइभर्सनको योजना बजेटमा समावेश हुदाँ पाल्पाली नागरिकमा उत्साह थपेको छ ।