तिनाउलाई हेफर इन्टरनेशनल नेपालकाे १५ लाख सहयोग

बाेली खबर   २१ जेष्ठ २०७८, शुक्रबार २०:५२

रामपुर, पाल्पाको तिनाउ गाउँपालिकामा कोभिड व्यवस्थापनका लागि हेफर इन्टरनेशनल नेपालले राहतकोषका लागि रु. १५ लाख सहयोग गरेको छ । हेफर इन्टरनेशनल नेपालका कार्यक्रम प्रवन्धक अनन्तराज सिलवालले गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिलाई रु.१५ लाखको चेक हस्तान्तरण गर्दै कोभिडको माहामारीमा जुधिरहेको परिवेशमा पालिकामार्फत संचालन गरिएका राहत कार्यक्रममा हेफरले हातेमालो गरेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिले पालिकामा अहिले २२ शैंयाको क्वारेन्टाइन, तथा १० शैंयाको कोभिड बिषेश अस्पताल निर्माण गरि सेवा दिएको बताउनुभयो । उहाँले पालिकाको पहलमा ७ सय थान कोभिड परिक्षण किट ल्याएर परिक्षण गरिएको र अक्सिजन सिलिन्डर खरिद गर्ने प्रक्रियामा रहेको जानकारी दिदै कोभिड नियन्त्रणमा खटेको पालिकाको लागि हेफरले दिएको सहयोग महत्वपूर्ण रहेकोमा जोड दिनुभयो ।

प्रवन्धक सिलवालले हेफरले पाल्पा जिल्लाका सबै स्थानिय तहहरुमा प्राथमिकताको आधारमा रु. १ करोड ४९ लाख सहयोग गर्ने र यो अभियानको शुरुवात तिनाउबाट गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हेफरले जिल्लाको तानसेन नगरपालिकालाई ४० लाख, रामपुर नगरपालिका, पूर्वखोला, निस्दी, रम्भा, रिब्दीकोट गाउँपालिकालाई १५।१५ लाख , माथागढी गाउँपालिकालाई १० लाख , रैनादेखि छहरा र बगनासकाली साढे ४ लाखका दरले राहत स्वरुप रकम उपलब्ध गराउने योजना छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठले अहिलेसम्म ६ सय जनाको कोरोना परिक्षण गरिएकोमा २ सय ८५ जनामा सङक्रमण देखिएको जानकारी दिदै हेफरको सहयोगले धेरै नागरिकको स्वाश्थ्य सुरक्षाले लागि सहयोग पुग्ने बताउदै धन्यवाद दिनुभयो । गएको २२ बर्षदेखि पाल्पामा पशुविकास तथा कृषि विकासको क्षेत्रमा स्थानिय पालिकासँग मिलेर काम गर्दै आएको हेफरले काम गरेका परियोेजना क्षेत्रका सहकारी सशक्तिकरण, खसि बोका, तथा तरकारी बजारीकरणको पशु नस्ल सुधार लगायतका काम गर्दै आएको हेफरका कार्यक्रम अधिकृत विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।