पाल्पामा जेठ ३१ गते सम्म निषेधाज्ञा जारी

बाेली खबर   २३ जेष्ठ २०७८, आईतवार १२:५१

पाल्पा, पाल्पामा कोरोना संक्रमणको दर बढे संगै गत बैशाख १७ गते देखि पाल्पामा जारी निषेधाज्ञा चौथो पटक थप भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसिएमसि) पाल्पाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले जेठ २४ गते राती १२ बजे सम्म जारी रहेको निषेधाज्ञा आगामी जेठ ३१ गते सम्मको लागि थप गरेको हो ।

यस अघिको अधिकांश निर्णयहरुलाई यथावत राख्दै खाद्यान्न, तरकारी, दुध तथा माछामासु, पानी, ग्याँस, पेट्रोलियम पदार्थ र निर्माण सामग्रीका पसलहरु विहान ७ बजे देखि ९ बजे सम्म मात्र खुल्ला हुँदै आएकोमा १ घण्टा थप गरेर ७ बजे देखि १० बजे सम्म खुल्ला गरिने भएको छ । साथै बैंक तथा वित्तिय संस्था बाट प्रदान गरिदै आएको सेवा थप्प रहेकोमा विकास तथा वाणिज्य बैंक मात्र विहान ७ बजे देखि १० बजे सम्म ३ घण्टालाई खुल्ला गर्ने निर्णय गरेको छ । तर लघुवित्त, सहकारी, बीमा कार्यालय बाट प्रदान गरिने सेवाहरु पूर्ववत रुपमा बन्द रहने भएको छ । सेवा प्रदानको क्रममा आवश्यक स्वस्थ्य मापदण्ड पालना गर्नु पर्नेछ । मेडिकल तथा क्लीनिकहरु २४ सै घण्टा सञ्चालन हुनेछ । उल्लेख नभएका अन्य पसलहरु भने खोल्न पाईने छैन ।

विवाह व्रतवन्ध लगाएत संस्कार जन्य कार्यहरु स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी घर मै सञ्चालन गर्नु पर्नेछ । जसमा १० जना भन्दा बढी सहभागी हुन पाईने छैन । विकास निर्माणका कार्यमा निर्माण स्थलमा क्याम्प खडा गरेर कामदारलाई राख्ने वातावरण मिलाउनु पर्नेछ । आदेश अनुसार निषेधाज्ञामा स्वास्थ्य, संचार, विद्युत, खानेपानी, सरसफाई बाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालय बाट प्रदान गरिने सबै प्रकारका सेवाहरु बन्द रहने छ । अत्यावश्य सेवाका बाहेक अन्य सार्वजनिक यातायातहरु सञ्चालनमा भने रोक लगाएको छ । त्यस्तै प्रशासनले अध्यादेश बमोजिम काम गर्न बाधा अवरोध सिर्जना गरेमा एक वर्ष कैद वा ५ लाख रुपैयाँ सम्म जरिवाना वा दुर्व सजाय हुने जनाएको छ । अध्यादेश विपरीत काम गर्ने संस्था वा व्यवसायलाई उल्लेखित सजाय संगै प्रमुख जिल्ला अधिकारीले छ महिना सम्मका लागि बन्द गर्न आदेश दिन सक्नेछ ।