रामपुर, सेवाका लागि युवा पोखरा ५ कास्कीले रामपुर नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोरोना महामारीले प्रभावित बनेका स्थानमा स्वास्थ्य सामाग्री प्रदान गर्दै आएको संस्थाले सेवा क्यानडा इन्टरनेशनलको सहयोगमा सामाग्री दिएको हो ।
रामपुर नगरपालिकालाई शनिबार संस्था मार्फत २ वटा अक्सिजन कन्सन्ट्रेटर, १५ वटा पुन प्रयोग गर्न मिल्ने पिपिई, २ सय सर्जिकल मास्क, १५ वटा केएन ९५ मास्क, २ लिटर सेनिटाईजर र ग्लोब्स हस्तान्तरण गरेको हो । सेवाका लागि युवाका अध्यक्ष अशिल कुमार शाहीले रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापालाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला, स्वास्थ्य शाखाका प्रमुख गिरिराज घिमिरे, संस्थाका सदस्यहरु विष्णु प्रसाद काफ्ले र बलराम कलिकोटेको उपस्थितिमा सामाग्री प्रदान गर्नु भएको हो । सेवाका लागि युवाका अध्यक्ष शाहीले संस्थाले मुलुक कोरोना संक्रमणको कारण आक्रान्त बनिरहेको समयमा केही राहत स्वारुप देशका विभिन्न स्थानमा सहयोग गर्दै आएको जानकारी दिनुभयो । उहाँले दोस्रो लहरले आक्रान्त पारेको स्थानमा संस्था पुगिरहेको बताउनुभयो ।
सामाग्री ग्रहण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कोरोना महामारी बाट बचाउन अक्सिजन नै महत्वपूर्ण बुटी सावित भएको बताउनुभयो । उहाँले आवश्यक मात्रामा अक्सिजन उपलब्ध नभएको अवस्थामा संस्थाले दिएको कन्सन्ट्रेटरले ठूलो राहत महसुस गराएको बताउनुभयो । सेवा नै सबै भन्दा ठूलो धर्म भएको बताउँदै उहाँले महामारीको समयमा सबैको साथ र सहयोगको खाँचो र रहेका बताउनुभयो । कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले गर्नु भएको हो । प्राप्त भएका अक्सिजन कन्सन्ट्रेटर रामपुर नगरपालिका स्वास्थ्य शाखाले वडा नं. १ को गाँडाकोट स्वास्थ्य चौकी र वडा नं. १० को गेझा स्वास्थ्य चौकीमा प्रयोग गरिने जनाएको छ