बगनासकाली ३ नायरनमलेसका किसानलाई कुटानी पिसानी मिल वितरण

बाली खबर   ३० जेष्ठ २०७८, आईतवार १६:४६

पाल्पा
पाल्पा बगनासकाली गाउँपालिका–३ नायरनमलेसका किसानलाई कुटानी पिसानी मिल वितरण गरिएको छ। वडा कार्यालयले १० जना किसानलाई ५० प्रतिशत अनुदानमा मिल वितरण गरेको वडाध्यक्ष टीका थापाले जानकारी दिनु भएको छ ।

वडाध्यक्ष थापाका अनुसार मिल खरिदका लागि वडाले २ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो। कृषि उपज यान्त्रीकरण वितरण कार्यक्रमअन्तर्गत मिल वितरण गरिएको हो। एक थान मिल ४७ हजार रुपैयाँमा खरिद गरिएको थियो। मिल लगेका किसानले स्थानीयलाई १५ प्रतिशत छुटमा कुटानी पिसानी गर्नुपर्ने छ। धान, मकै, गहुँ, कोदो, फापर लगायतका मिलमा हुने सबै कुटानी पिसानी गर्न पाउने छन्।

यस्तै, तीन थान घाँस काट्ने मेसिन समेत वितरण गरिएको छ। यसअघि एक घर एक करेसाबारीको लागि किसानलाई सहयोग गरिएको छ। बिउबिजन वितरण, कोभिड विशेष युवा स्वरोजगार कार्यक्रमअन्तर्गत २० जना युवालाई लोकल कुखुराका चल्ला अनुदानमा वितरण गरिएको थापाले बताए। एक जनालाई एक महिनाका ८० वटा चल्ला वितरण गरिएको छ।