खोप खरिदको लागि २ करोड रुपैयाँ विनियोजन रामपुर नगरपालिका

बन्दना पाेखरेल   ८ असार २०७८, मंगलवार ०५:२८

पाल्पा, रामपुर नगरपालिका कोरोना विरुद्धको खोप खरिदको लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ ।

नगरबासीको जिवन रक्षाका लागि खोप खरिद अनुमति माग्न देशैभर बाट पहिलो पटक स्वास्थ्य मन्त्रालय पुगेको पाल्पाको रामपुर नगरपालिकाले नगर सभा मार्फत रकम विनियोजना गरेको हो ।आधारभूत स्वास्थ्यलाई पहिलो प्राथमिकता राख्दै सोमबार ७४ करोड ६४ लाख ६१ हजार बराबरको बजेट सार्वजनिक गरेको रामपुर नगरपालिकाले खोपको लागि बजेट विनियोजन गरेको हो ।

संघिय सरकारले खोपको व्यवस्था गर्ने जनाए पनि नगरपालिकाले नगरबासीलाई सुरक्षित राख्न खोप खरिदको लागि बजेट छुट्याएको हो । नवौं नगर सभामा बजेट सार्वजनिक गर्दै रामपुर नगरपालिकाका उप–प्रमुख विष्णु देवी घिमिरे आचार्यले कोभिड–१९ विरुद्धको खोपको लागि २ करोड विनियोजन गरेको जानकारी गराउनुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै खोप खरिदको लागि पहल गरिने बताउनु भएको थियो । त्यस्तै नगरपालिकाले प्रत्येक स्वास्थ्य संस्थामा कोरोना महामारीलाई ध्यानमा राख्दै अक्सिजन कन्सेन्ट्रेटर सहितको आईसोलेसन कक्ष सञ्चालन गर्ने जनाएको छ ।