
पाल्पा : अविरल वर्षासँगै आएको पहिरोले पाल्पामा घर पुरिँदा बिहीबार विहान एक जनाको मृत्यु भएको छ। अर्का एक जना बेपत्ता र सात जना घाइते भएका छन्।
मृत्यु हुनेमा तिनाउ गाउँपालिका–५ गिट्टी खानीका ४५ वर्षीय वीरबहादुर गुरूङ रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए। उनको घटनास्थलमै मृत्यु भएको छ।
विहान ४ बजेतिर गएको पहिरोमा पुरिएर सोही ठाउँका ४ वर्षीय आरभ परियार बेपत्ता भएका छन्। सात जना घाइते भएका छन्। आरभका बुवा रमेश र आमा पूजा परियार र सोही ठाउँकी ७५ वर्षीया सुन्दरी गुरूङ गम्भीर घाइते भएका त्वातीले बताए। घाइतेलाई उपचारको लागि बुटवलतर्फ लैजादै गरेको उनले जानकारी दिए।
उनका अनुसार ४ घर पूर्ण रूपमा पहिरोमा परिएको छ। अहिले नेपाल प्रहरी र स्थानीय उद्धार कार्यमा जुटिरहेका छन्।
घटनाबारे थप विवरण आउन बाँकी रहेका प्रहरीले जानकारी दिएको छ।