पाल्पाको एक मात्र चलचित्र हल सधैका लागि बन्द

बाेली खबर   २७ असार २०७८, आईतवार १६:३९

तानसेन, कोरोना भाइरस ‘कोभिड १९’ महामारीका विच एकपछि अर्को चलचित्र हलहरु बन्द हुन थालेका छन् । यसैविच कोरोना महामारीकै विच पाल्पाको एकमात्र सन्ताेष चलचित्र मन्दिर सधैको लागि बन्द भएको छ ।

सदरमुकाम तानसेनमा रहेको ‘सन्तोष चलचित्र मन्दिर’ स्थायी रुपमा बन्द गर्ने निणर्य गरिएको छ । वि.सं २०३८ सालमा यस चलचित्र हलको स्थापना गरिएको थियो । अब चलचित्र हल सधैका लागि बन्द गर्ने निणर्य गरिएको संचालक सन्तोष लिगलले जानकारी दिनुभयाे ।

हलमा ३४५ सिट क्षमता रहेको थियो । कुनै समय हलमा चलचित्र हेर्न गाउँ–गाउँबाट दर्शकको बाक्लो भीड लाग्दथ्यो । तर, पछिल्ला केही वर्षयता दर्शकको संख्या घट्दै गएको थियो । सूचना प्रविधिको सहज पहुँचसँगै दर्शकले चलचित्र हेर्ने माध्यमको विकल्प खोज्न थालेपछि हलमै गएर चलचित्र हेर्ने दर्शक घटेको लिगलले बताउनु भयाे । एक दशक अगाडिसम्म दर्शकको भीड लाग्ने हलमा कोरोना महामारी अगाडि १०–१५ जना मात्र दर्शक आउने गरेका थिए ।

‘केही वर्षयता चलचित्र हेर्ने दर्शक समेत घटेका थिए । सामान्य अवस्थामा पनि हलमा दर्शक नहुँदा कर्मचारीलाई तलब दिन र विद्युत महशुल बुझाउन समेत गाह्रो थियो’ लिगलले भन्नुभयाे, ‘कोरोना महामारीका कारण डेढ वर्षदेखि हल ठप्प छ । अब खुलेपनि चलाउन गाह्रो हुने भएकाले सधैका लागि बन्द गर्ने निणर्यमा पुगेका हौं ।’