४५औं दिनको पुण्य तिथिमा अपाङ्गता भएकालाई खाद्यान्न सहयोग

बोलीखबर   २९ असार २०७८, मंगलवार २१:११


पाल्पाका रिब्दीकोट गाउँपालिका वडा नं. ४ का तुलबहादुर अधिकारीले आफ्नी स्वर्गीय श्रीमतिको ४५ औं दिनको पुण्य तिथिमा अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न प्रदान गर्नुभएको छ । उहाँले पाल्पा तानसेन नगरपालिका वडा नं. ७ काजिपौवामा रहेको सिर्जनशिल अपाङ्ग स्वाबलम्बन केन्द्रमा बस्दै आएका अपाङ्गता भएकाहरुको लागि चामल, दाल, तेल, नुन, चाउचाउ, साबुन लगायतका खाद्यान्न प्रदान गर्नुभएको हो ।


लायन्स क्लव अफ पाल्पा रानीमहलका सचिव, एमालेको भातृ संगठन युवासंघ नेपालका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश संयोजक समेत रहेका अधिकारीले क्लवको व्यबस्थापनमा खाद्यान्न प्रदान गर्नुभएको हो । समाजसेवी अधिकारीकी धर्मपत्नी प्रतिक्षाको कोरोना संक्रमणको कारण ३३ वर्षको उमेरमा गत जेठ १६ गते निधन भएको थियो ।


धर्मपत्नी प्रतिक्षाको अल्पायुमै निधन भएको अधुरा सपना पुरा गर्ने उद्देश्यले असायहरुको लागि खाद्यान्न प्रदान गरिएको उहाँले बताउनु भयो । खाद्यान्न ग्रहण गर्दै सर्जनशिल अपाङ्ग स्वाबलम्बन केन्द्रका प्रमुख सन्दिप भट्टराईले कोरोना महामारीका केन्द्रमा समस्या बढ्दै गएको बेला प्राप्त भएको खाद्यान्नले ठूलो राहत मिलेको बताउनु भयो ।


स्वर्गीय प्रतिक्षा पनि लायन्श क्लब अफ डाईनामिक लेडी बुटवलको कोषाध्यक्ष हुनुहुन्थ्यो । लायन्श क्लब अफ डिष्ट्रिक चिफ एवम् मिडिया तथा पब्लिकेसन्स मेम्बर कृष्ण कार्कीले शोकमा परेका बेला गरिएको सहयोग उदाहरणीय भएको बताउँदै यस्ता कार्यले पुण्य प्राप्ति हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस अवसरमा क्लवका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।