
काठमाडौं, सर्वोच्चको फैसलामार्फत पदबाट हटाइएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरवारबाट आफ्नो अन्तिम सम्बोधन गरेका छन् । उनको सम्बोधन मूलरूपमा सर्वोच्च अदालतको फैसलामाथि केन्द्रित थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेराे लागि लाेकतन्त्र जीबिका हाेइन जीवन हाे, फेरी बादल फाटेर सूर्य उदाउनेछ ।’ सर्वोच्चको फैसलाको खुलेरै आलोचना गरेका ओलीले विश्व इतिहासमै पहिलोपटक अदालतले प्रधानमन्त्री नियुक्त गरेको भन्दै व्यंग्य कसेका थिए । ओलीले सर्वोच्चलाई झेली रेफ्रीको संज्ञा दिए । रेफ्रीले नै गोल गर्न खोजेको उनको आरोप थियो ।
सम्वोधनको शुरूआतमै ओलीले भने, ‘म जनादेशबाट होइन, परमादेशबाट हटाइएको हुँ । जनादेश त अहिले पनि मेरो पक्षमा थियो । तर, परमादेश शेरबहादुरजीको पक्षमा आयो ।’
ओलीले संसदीय दलको ह्वीप उल्लंघन गर्दा कारवाही नहुने अदालतको फैसलाप्रति आपत्ति जनाए । राजनीतिक दलबाट टिकट लिएर जितेको जनप्रतिनिधिले आफूखुशी भोट हाल्न पाउने व्यवस्था दलीय प्रणालीको मूल्य र मान्यताविपरीत रहेको उनको टिप्पणी थियो ।
एउटै पार्टीका सांसद सत्तापक्ष र प्रतिपक्ष दुवै हुन सक्ने गरी विचित्र अवस्थाको सिर्जना गरिदिएको ओलीले बताए । अदालतले रेफ्रीको भूमिकामा सही न्याय दिन नसकेको उनको भनाइ छ ।
ओलीले भने, ‘खेल खेल्ने जिम्मेवारी खेलाडीहरूको हो । तर, रेफ्री स्वयम्मा गोल गर्ने वा खास पक्षलाई जिताउने इच्छा जागृत भयो भने त्यसले जोखिम निम्त्याउँछ । अझ सन्दर्भमै नउठेका वा माग नै नभएका विषयमा समेत फैसला दिँदै जटिलता मात्रै बढाउँछ ।’
अदालतले आफ्नो अधिकारक्षेत्र बाहिर गएर राजनीतिक विषयमा हात हालेको आरोप ओलीले लगाए । यसबाट भविष्यमा उत्पन्न हुन सक्ने दुष्परिणामप्रति चिन्ता व्यक्त गरे । ओलीले भने, ‘हाम्रा पार्टीका साथीहरूबाट विपक्षी खेलाडीलाई बल पास दिने काम भयो । आफ्नो पोष्ट खाली राख्ने र गोलकिपर बस्नै नदिने प्रयाससमेत भयो । यो अत्यन्तै चिन्ताजनक छ ।’