दलित भएकै कारण कुटपिटको शिकार

सन्जु देवी परियार   ७ श्रावण २०७८, बिहीबार १०:४४

गुल्मी ,गुल्मीको मुसिकोट नगरपालिका वामीका एक बृद्ध दम्पती दलित भएकै कारण कुटपिटको शिकार भएका छन।

मुलुक एक्काइसौं शताब्दीको परिबर्तित समयमा आइसकेको अवस्थामा दलित भएकै कारण विभेद भइ कुटपिट जस्तो पीडाबाट गुज्रिनु परेको यो पहिलो केस चाहिँ होइन, जातिय विभेदका कैयौं घटना हरु हाम्रो देशमा पछिल्लो समयमा दिनानुदिन जस्तो घटिरहेका छन् । कहिले चुल्हो छोएको निहुमा त कहिले आफुभन्दा माथिल्लो जात भनाउदा हरुको छोरी चेली संग प्रेम गरेको निहुमा विभिन्न घटना घटे अझै भन्नुपर्दा ज्यान समेत गुमाएकाछन ।
जातिय छुवाछुतकै कारण गत असार ३१ गतेका दिन गुल्मीको मुसिकोट नगरपालिका वामी स्थाइ घर भएका साठी बर्षका तेज बहादुर दमाई र उनको श्रीमती चित्रकला दमाई लाई दलित भएकै कारण आफ्नो घर नजिक बसेकोले सोही ठाँउ निवासी छिमेकी डिलाराम सापकोटा र उनकी श्रीमती बिनिता सापकोटाले लौरो प्रयोग गरि निर्घात कुटेकाछन ।

दैनिक आवस्यक घरायसी सामान किनेर घर फर्कने क्रममा थकाइ मार्न बाटोछेउ बसेका दलित दम्पतीलाई तिमिहरु तल्लो जातका हाम्रो घर अगाडि किन बस्यौ भनी सापकोटा दम्पतिले तथानाम गालिगलौज सहित कुटपिट गरेका हुन। बृद्धअवस्थामा पनि जातिय बिभेदकै कारण आफुहरु माथी कुटपिट सहन नसकेका र मानसिक अनि शारीरिक रुपमै अशक्त दमाई दम्पतिको शरीरभरि ८०% निलडाम रहेकोछ।

राज्यले कथित दलित समुदायका लागि संबिधानमा कानुन उल्लेख गरि समेटेपनि कार्यान्वयनको पक्षमा भने फितलो देखिएकोछ। देशको साठी लाख जनसंख्या भएको कथित दलित समुदायका निम्ति उनीहरुको हक हित सुनिश्चित गर्ने पक्षमा राज्यको सम्बन्धित निकाय कमजोर भएकै कारण दिनानुदिन जातिय बिभेद्का घटनाहरु घटिरहेका हुन् ।

दलित समुदायलाई भोटर बैंक को रुपमा मात्रै प्रयोग गर्दै आएका स्थानीय निकाय देखि माथिल्ला राजनीतिक निकाय हरु यस केसमा मौन रहेका र सोही ठाँउका मेयर, उपमेयर , वडाअध्यक्ष , सदस्य न्यायिक समिती समेत केसको बारेमा थाहा पाउँदा पनि त्यसप्रति ठोस कदम नचालेको र उजुरी समेत दर्ता गर्न नमानेको पिडित दमाई दम्पतिको भनाइ छ।

मुसिकोट नगरपालिकाको स्थानिय प्रहरी चौकीमा छलफलका क्रममा चर्काचर्की रुपमा घटना अस्विकार गरेका सापकोटा दम्पतिले जिल्लामा भने स्वीकार गरेकाछन। आफू हरु दलित भएकै कारण घर नजिक बसे भनेर पिटेका सापकोटा दम्पतीले ज्यान समेत लिने योजना देखिएको पिडित दमाई दम्पती बताउनुहुन्छ। “अब पनि दलित भएकै कारण घटेका घटना लाई राजनीतिकरण गरि लुकाउने , प्रहरी प्रशासनले उजुरी समेत लिन नमान्ने र पिडक लाई बचाउने काम भएमा हामी छाड्दैनौ , आवस्यक कदम चाली दोषीलाई कानुनी प्रक्रिया अनुसार सजायको भागिदार गराउन हामी सबै एकजुट भै लाग्नेछौ।”नेपाल दलित मुक्ति अभियान कि केन्द्रिय उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख कमला परियार बताउनुहुन्छ।