
पाल्पा, ३ महिना देखि कार्यालय प्रमुख विहिन बनेको इलाका प्रशासन कार्यालय रामपुरले विहिबार देखि हप्तामा २ दिन नागरिकता सहितको सेवा दिन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले विहिबार र शुक्रबार गरी हप्तामा २ दिन प्रशासकिय अधिकृत पठाएर कार्यालय बाट सेवा दिन थालेको हो ।
गत चैत्र २७ मा कार्यालय प्रमुख इश्वरचन्द्र अर्याल सरुवा भए संगै इलाका प्रशासन कार्यालय प्रमुख विहिन बनेको हो । प्रमुख नहुँदा नागरिकता, द्रुत गतिको राहदानी सिफारिस, आदिबासी जनजाति प्रमाणित, नाबालक परिचय पत्र, संस्था नवीकरण लगायतका सेवा प्रभावित बनेको थियो । विहिबार कार्यालयमा आउनु भएका जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकिय अधिकृत रमा श्रेष्ठले तत्कालको लागि हप्तामा २ दिन सेवा दिन थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले तत्कालको लागि जिल्ला प्रशासन कार्यालय बाट आएर दुई दिन सेवा दिन थालेका छौं । ३ महिना सम्म कार्यालय प्रमुख नहुँदा अन्य सेवा जिल्ला प्रशासन बाटै प्रदान गरे पनि नागरिकता सेवा प्रदान गर्न नमिल्ने भएकाले विहिबार र शुक्रबार कार्यालय आएर सेवा दिन थालिएको हो ।’
उहाँका अनुसार मन्त्रालयले कार्यालय प्रमुख खटाए पनि अनुपस्थित हुँदा समस्या भएको हो । गृह मन्त्रालयले गत चैत १६ मा निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्याललाई कार्यालयमा पठाएको थियो । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले स्थानीयको सहजताको लागि जिल्ला बाटै खटाएर हप्तामा २ दिन सेवा दिन थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्यालय प्रमुखको व्यवस्थाको लागि पहल भैरहेको छ । जिल्ला बाट पठाएर दैनिक सेवा सुचारु गर्न सक्ने अवस्था नभएकाले विकल्पमा सहजताको लागि हप्तामा विहिबार र शुक्रबार २ दिन प्रशासकिय अधिकृत खटाएर सेवा दिन थालेका हौं ।
’पाल्पाको पूर्वी भेगका जनताको सहज रुपमा सेवा प्रदान गर्नका लागि सुरु गरिएको कार्यालयमा कार्यालय प्रमुख सरुवा भए संगै नागरिकहरुले सास्ती झेल्दै आएका छन् । यस अघि पनि कार्यालय प्रमुख विहिन अवस्थामा जिल्ला प्रशासन कार्यालय पाल्पाले कर्मचारी पठाएर सेवा दिदै आएको छ । कार्यालयबाट रामपुर नगरपालिका, निस्दी गाउँपालिकाको वडा नं.१ देखि ६ वडा नं. ६ सम्म र पूर्वखोला गाउँपालिकाको वडा नं १ सिलुवाका स्थानीयवासीलाई सेवा प्रवाह हुँदै आएको छ ।