
दाङ । बषौँ देखि हाम्रो समाजमा दलित जातीलाई मन्दिर या पाटी पौवामा जान दिईँदैन् । जातिय विभेदकै कारण उनीहरुलाई मठ मन्दिरहरुमा पुजा पाठ गर्न रोक लगाईन्छ । तर कतिपय यस्ता स्थान पनि छन् जो समाज परिवर्तन बन्दै छन् ।
केही ठाउँमा दलितलाई मठमन्दिरमा पुजाआजाका लागि रोक लगाउने नभई दलित समुदायकै प्रतिनिधिलाई पुजेरीको रुपमा राखिन्छ । दाङको एक मन्दिरमा पनि बर्षौँ देखि दलित पुजारी राखिएको छ । घोराही उपमहानगर पालिका वडा न. १८ दिपज्योती टोल मसिनाको सामुदायिक मन्दिरमा दलित नै मुल पुजारी रहेकी छिन् । समाजिक विभेदलाई अन्त्य गर्दै त्यहाँको समुदायले नागेश्वर पार्वती मन्दिरमा दलित महिलालाई नै मुल पुजेरीको रुपमा राखेको छ ।
२०७२ सालमा स्थानीय पार्वती बि.क लाई माता उत्रिएपछि २०७२ फागुन २७ देखि उहाँलाई नै मुल पुजारीको रुपमा राखिएको थियो । तर पार्वती अरु नै मन्दिरमा गएपछि अहिले त्यस मन्दिरमा पुन दलित समुदायकै स्थानीय रिता नेपालीलाई मुल पुजारीको रुपमा राखिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर रायमाझीले बताउनुभयो ।
समाजमा रहेको जातिय भेदभावको पर्खाल तोड्नुपर्छ भन्ने हामीलाई लाग्यो,दलित पनि यही समुदायमा बसेर मन्दिर भित्र समेत पस्न नपाउने कस्तो अन्याय भनेर हामीले दलित समुदायबाटै मुख्य पुजारी राख्ने निणर्य गरेर सोही अनुसार गरेका छौँ, रायमाझीले भन्नुभयो । उक्त मन्दिरमा पुजाआजाका लागि अन्य समुदायका मानिसहरु पनि आउने गरेका छन् । उनीहरुले पुजेरीको हातबाट टिका,प्रसाद ग्रहण गर्ने र पुजाआजामा सलंग्न हुने गरेका छन् । यस्तो परम्परा देशभर सञ्चालन गर्न सके जातिय विभेद केही हदसम्म कम हुने रायमाझीले दुखेसो पोख्नुभयो ।