आधुनिकता सगैँ बिस्तापित हुदैँ ‘कुडुले घर’

बन्दना पाेखरेल   ९ श्रावण २०७८, शनिबार २२:०८

पाल्पा आधुनिकताको प्रवेशसंगै पछिल्लो समयमा घुमाउने घर क्रमशः लोप हुँदै गएको छ । पहिला अन्यत्र गएर गाउँमा कमाउने खासै हुँदैनथे, बाउ बाजेले बनाएका घुमाउने घरमै जीविका चलाउनुपर्ने बाध्यता थियो । गाउँका युवाहरु वैदेशिक रोजगारी र विभिन्न पेशा व्यवसायमा संलग्न हुन थालेपछि पुरानो घुमाउने घरको ठाउँमा सिमेन्ट र ढुङ्गाबाट नयाँ घर बनाउन थालिएको छ । 

 हाम्रो देश बहु संस्कार सस्कृतिले भरिएको छ । यहाँ धेरै जातजाति भाषा धर्म र सस्कार परम्परा रही आएको छ । यहाँका कला सुन्दर छन् । जुन अहिले पनि मनमोहक देखिन्छन् । यस्तैमा एक हो घुमाउरो घर । यसले गाउँ नै सुन्दर र रमाइलो देखिन्थ्यो । तर सुबिधा नहुदाँ बस्न भने कष्टकर रहन्छ ।

स्थानीय बासिन्दाले घुमाउने घरको सट्टा सिमेन्ट जोडेर ढुङ्गाको गारो भएका घर धमाधम बनाइरहेका छन् । पुरानो घरमा जीविका चलाउन कठिन भएपछि उनीहरुले त्यसलाई हटाएर नयाँ घर निर्माण गर्न थालेका हुन् । पुरानो घरबाट जीविका चलाउन गाह्रो परेपछि ६६ वर्षीय चन्द्रबहादुर खन्गाहा पनि नयाँ घरमा बसोबास गर्दै आएका छन् । उनले विगत पाँच वर्षयता घुमाउने घर भत्काएर नयाँ घरमा बसोबास गरेका छन् । “घुमाउने घरभित्र एउटा मात्र कोठा, त्यही कोठामा खाना पकाउने, अन्नपात, लत्ताकपडा राख्ने, सुत्ने बस्ने गर्न समस्या प¥यो”, “मगर जातिको पहिचान बोकेको घर हटाउन मन नहुँदा नहुँदै पनि बाध्य भएर हटाउनुपरेको छ”, खन्गाहाले भने ।

निस्दी ४ खादरकाे कुडुले घर

“लामो समयसम्म घुमाउने घरमै जीवन बिताए, अहिले त्यही घर हटाएर नयाँ घरमा बसोबास गर्दा मनमा पुरानो घरले याद झल्काइरहेको छ”, उनले भने । ७६ वर्षीय वीरबहादुर ढेंगा भने अहिलेसम्म पुरानै घरमै बस्दै आएको छ । “घर बनाउन सक्नेले त नयाँ घर बनाए सुखसँग बसे, हामीलाई त घर बनाउन सक्ने अवस्था भएन, यही घरमा दुःखसुखसँग बसिरहेका छौँ”, उनले भने । उनि सहित छोराबुहारी नाति नातिना गरी पाँच जनाको परिवार छ । खाना पकाउनेदेखि लिएर सबै परिवार त्यही घरभित्र बस्न बाध्य छन् ।

धुवाँले घरका भित्ता रङ्गिएर पूरै कालो भएको छ, सहज वातावरणमा वस्न निकै गाह्रो छ तर अर्को नयाँ घर बनाउने उपाय नहुँदा यही घरको भरपर्नु परेको उनको गुनासो छ । गाउँमा पुरानो घुमाउरो घर ६ वटा मात्र रहेका छन् । सबैले नयाँ घर बनाएपछि अहिले यी घर सबैको आकर्षण बनेको छ । यो घर भूकम्पका लागि अति सुरक्षित मानिन्छ । कोठा नहुँदा एउटै कोठामा खाना पकाउनदेखि लिएर बसोबास गर्न समस्या परेपछि अहिले नयाँ घर बनाउन थालिएको वडा अध्यक्ष लक्ष्मीप्रसाद पाटाले बताए ।

गर्मी समयमा चिसो, जाडो समयमा तातो हुने, अत्यन्त कम लागतमा घर निर्माण गर्न सकिने हुँदा यसको संरक्षणतर्फ लाग्ने उनले बताए । हिजोआज पुराना घुमाउने घर लोपोन्मुख भएका कारण गाउँगाउँमा पुग्ने आन्तरिक पर्यटक, पत्रकारको क्यामेरा, मोबाइलमा कैद हुने गर्दछ भने विगतका केही वर्षयता पुस्तक, कापीका आवरण, विभिन्न सङ्घसंस्थाका क्यालेण्डरमा फोटो प्रकाशित हुन थालेका छन् । पुरानो शैलीमा निर्मित घर क्रमिक रुपमा लोप हुँदै जाँदा जातीय र भौगोलिकताको पहिचान र मौलिकता गुमाउँदै गएको छ ।

मगर र कुमाल जातिको पहिचान झल्कने पुरानो कुडुले घर जिल्लाको पूर्वी क्षेत्रको खाँदर, मित्याल, मध्यक्षेत्रअन्तर्गत कसेनी, रुप्से, चिर्तुङधारा लगायतका क्षेत्रमा अहिले लोप हुँदै गएका छन् । जातीय, सांस्कृतिक पहिचान बोकेका परम्परागत शैलीमा निर्मित घरको संरक्षण गर्नसके गाउँमा पर्यटकको सङ्ख्यामा वृद्धि भई विकासको लहर अगाडि बढ्ने अनुमान गर्न सकिन्छ । अहिले पाल्पाको र्पुव निस्दी गाउँपालीका हाल संघिय सरकारको लगानिमा एक मगर सङ्ग्रालय बनिरहेको छ । जुन घुमाउरो पुरानो सैलिमा निर्माण गरीएको छ । निस्दीको झीरुवासमा रहेको कवुलिएति वन प्रवेश गर्न जाने गेटमै रहको छ ।

गाउँपालीकाले पनि हाल यस्ता कला सस्कार सस्कृति जगेर्ना गर्न यस्ता घर संरक्षण गर्न थालेकाे गाउँपालीकाका अध्यक्ष मुक्त बहादुर सारू वताउछन् । जसका लागी पालिकाले बिभिन्न अावश्यक ठाउँमा यस्ता घरहरू निमार्ण गरेकाे छ ।