
रामपुर, निस्दी गाउँपालिका गल्धा बहपुरकी उर्मिला सुनारीकाे बाख्रा पालनले वहाँकाे दैनिकमा परिवर्त भएकाे छ । गत साउनदेखि हालसम्ममा मात्रै २८ वटा खसी बाख्रा मात्रै बिक्री गरिसक्नुभएको छ ।
बिक्रीबाट करिब रु ४ लाख आम्दानी लिन पाउँदा उहाँलाई व्यवसायमा थप उत्साह मिलेको छ । सुनारीले घरमा पालेको खसी बढीमा ४५ किलोसम्म बिक्री गर्न सफल हुनुभएको छ । हाल सातवटा माउ बाख्रासहित ३० वटा खरी जातका बाख्रा छन् ।
गत आर्थिक वर्षमा करीब रु साढे २ लाख बराबरको खसी बिक्री गर्नुभएका सुनारीले यसवर्ष गतवर्षको तुलनामा दोब्बर कमाई गर्ने लक्ष्य पुरा गर्नु भएको छ । सुन्तला खेतीमा संलग्न रहेको सुनारीको परिवार अहिले बाख्रापालनमा मात्रै आश्रित बनेको छ । “बाख्रामा खासै लगानी गरिएको छैन तर आम्दानी भने नसोँचेको भएको छ, पहिला खाली जग्गामा सुन्तला खेती गरेका थियौँ, त्यसबाट पनि आम्दानी राम्रै थियो तर सुन्तलाको तुलनामा बाख्राबाट अझ बढी आम्दानी हुन थालेपछि अहिले बाख्रापालनलाई मुख्य आयस्रोत बनाएर श्रीमान् श्रीमती नै यस व्यवसायमा आबद्ध छौँ” ।
निस्दी ५ बेलौजी बस्ने रेवति सारुले एउटै खसी रु ३७ हजारमा बिक्री गर्नुभयो । आफूले पालेको खसी यतिधेरै मूल्यमा बिक्री गर्न पाउँदा उहाँ अहिले दङ्ग हुनहुन्छ । दुई चार पैसाका लागि सधैँ श्रीमानको भरपर्न बाध्य सारु अहिले आफैँले पालनपोषण गरेको एकै खसीबाट रु तीस हजार नगद हातपार्न सफल भएका छन् । “बाख्रा पाल्न थालेपछि हातमा पैसा छैन खाली, एउटै खसीलाई पर्छ रु ३० हजार भन्दा बढी, यो व्यवसायबाट म र मेरो परिवार सन्तुष्ट छौँ,” उहाँले भन्नुभयो । खोर व्यवस्थापन र घाँसपातको सुबिधा राम्रो भएपछि उहाँलाई व्यवसायमा थप उर्जा मिलेको छ ।
निस्दी ५ बहपुरका खुमिसरा साना उहाँको परिवारमा ५ जना सदस्य हुनुहुन्छ । बाख्रा पालन व्यावसाय सुरु नगर्दा सम्म परिवार चलाउन निकै गाह्रो थियो । अहिले राम्रै सगै चलेको छ । अहिले २१ वटा बाख्रा पाल्नु भएको छ । उहाँले सहकारीमा लागेर बजार पनि सहज भएको र मुल्यमा नठगिएको बताउनु हुन्छ ।
विसं २०७१ मा हेफर इन्टरनेशनल नेपालले गाउँका महिलालाई बाख्रापालनमा लगानी गरिदिएपछि बाख्रापालनमा महिलाहरु लागेका हुन् । व्यवसायउन्मुख हुदै गरेका महिलाहरुलाई थप प्रोत्साहन गर्न विसं २०७३ मा गल्धा सामाजिक महिला सहकारी गठन भएपछि गाउँभरी नै बाख्रापालन गर्ने महिलाको लहर छायो ।
यस सहकारीले ग्रामीण भेगका महिलालाई समेट्दै २८ वटा उपसमूह बनाएर व्यवसायमा सहयोग गरिरहेको छ । संस्थाले वार्षिक रु दुई करोड ५१ लाख बराबरको कारोबार गर्दै आइरहेको छ । बाख्रापालनमा महिलालाई उत्साहित बनाउँदै गाउँ गाउँमै पुगेर खसी बोका खरिद गरी बजार पठाउने गरेपछि उनीहरु बख्रापालनमा आकर्षित हुँदै गएका हुन् । सहकारीमा हाल पाँच सय १८ सेयर सदस्य मध्ये चार सय ६९ सदस्य बाख्रापालनमा आश्रित छन् ।
२० किलोसम्मको खसीलाई प्रतिकिलो रु तीन सय ६० मा, २० किलो देखि ३० किलो सम्म रु चार सय २० मा, ३० देखि ३६ किलो सम्म रु चार सय ५० मा बिक्री गर्ने गरिएको छ । त्यस्तै ३६ किलो देखि ४० किलोसम्म रु चार सय ८० मा, ४० किलो देखि ५० किलो सम्म रु पाँच सय, ५० किलो देखि माथिको तौल भएका खसी बोकालाई रु पाँच सय ४० प्रतिकिलो मूल्य कायम खरी खरिद गर्ने गरेको सहकारीका व्यवस्थापक दिलमाया रानाले बताउनु भएकाेछ ।
गत वर्ष एक हजार दुई सय बाख्रा खरिद बिक्री गर्ने लक्ष्य राखेको सहकारीले यस आर्थिक वर्षको असार मसान्त भित्रमा एक हजार चार सय खसी बोका खरिद बिक्री गर्ने योजना बनाएको छ । सहकारीले गाउँका पाँच स्थानमा खसी बोका खरिद बिक्री सङ्कलन केन्द्रमार्फत् नवलपुरको कावासोती, पोखरा, पाल्पाको रामपुर बजारमा खपत गर्दै आएको छ । निस्दी गाउँपालिकाको वडा नं ५ गल्धालाई मात्र कार्यक्षेत्र बनाएर काम गरिरहेको सहकारीले अब वडा नं ३ झिरुवास र वडा नं ६ अर्चले सम्ममा क्षेत्र बिस्तार गर्ने योजना बनाएको छ ।
सहकारीका अध्यक्ष तिरण कुमारी श्रेष्ठका अनुसार लुम्बिनी प्रदेश बाख्रा अनुदान कार्यक्रम अन्तरगत पशुसेवा कार्यलय पाल्पा बाट यस वर्ष ५ लाख ३८ हजार ८ सय ७५ वरावर अनुदान प्राप्त गरेको छ । जुन प्रदेशले सहकारीहरुलाई एक बाख्रा बेचेबापतको एक केजि बाख्रमा २५ रुपया सहकारी मार्फत दिने गर्दछ । जसमा यस वर्ष सवै भन्दा धेरै उर्मीला सुनारीले २० हजार दुई सय प्राप्त गर्नु भएको छ । उहाँले ३ लाख ६४ हजार १ सय ३३ केजि खसि वाख्रा विक्री गर्नु भएको छ । त्यसै गरि रेवति सारुले १०हजार ७५ रुपयाँ अनुदान प्राप्त गर्नु भएको छ । खुमीसरा रानाले यस वर्ष ९ हजार ९ सय ५० रुपया १ लाख ८३ हजार ३ सय ९० केजि विक्री गर्नू भएको हो ।
महिलालाई बाख्रापालनमा गाउँपालिकाको सहयोग
निस्दी गाउँपालिकाले बाख्रा सहयोग कार्यक्रम ल्याएको छ । खसी बोका उत्पादन गरी गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउन र ग्रामीण भेगका महिलाको आयस्तर उकास्न महिला लक्षित बाख्रा प्रवद्र्धन कार्यक्रम पालिकाले सुरु गरेको छ । गाउँपालिकाले स्थानीय गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थासँग साझेदारी गरी बाख्रा प्रवद्र्धन कार्यक्रम सुरु गरेको हो ।
गाउँपालिकाको आर्थिक सहयोगमा सहकारीमा आबद्ध १ सय महिलालाई एक/एक वटा माउ बाख्रा निशुल्क सहयोग गरिएपछि बाख्रापालनमा उनीहरू थप आकर्षित बनेका छन् । साथै सहकारीको मातहतमा रहेका दशवटा समूहलाई एक÷एक वटा उन्नत जातको बोका समेत उपलब्ध गराइएको छ । गाउँपालिकाको पशु सेवा शाखाले सङ्घीय बजेट अन्तर्गत सशर्त कार्यक्रममार्फत् रु नौ लाख ९० हजार, गाउँपालिकाको लागत साझेदारी कार्यक्रमबाट रु नौ लाख ९० हजार र सहकारीको रु तीन लाख २३ हजार गरी करिब रु २३ लाखको लागतमा बाख्रा वितरण गरिएको हो ।
सहकारीले पशु सेवा शाखाको उद्देश्य पूरा गरेको र खसी बोका राम्रो उत्पादन गरी बजारमा बिक्री गर्न सफल भएकाले बाख्रापालनमा गाउँपालिकाले सहयोग गरेको निस्दी गाउँपालिका पशु सेवा शाखा संयोजक ओमबहादुर मश्राङ्गीले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले निर्वाहमुखी बाख्रापालन गर्ने पुरानो संस्कार छाडेर आधुनिक प्रबिधिबाट व्यावसायिक बाख्रापालन गरेर आत्मनिर्भर बनाउन बाख्रा प्रवद्र्धन कार्यक्रम ल्याएको जानकारी दिनुभयो । “भूगोलको हिसाबले कृषि र पशु क्षेत्रका कार्यक्रम गर्न निस्दी गाउँपालिका उपयुक्त रहेको हुदा गाउँपालिकाले आम्दानी बढाउने उद्देश्यले महिलालाई प्रोत्साहन गर्दै बाख्रा अनुदानमा सहयोग गरेका हौँ”, अध्यक्ष सारुले भन्नुभयो ।
ग्रामीण भेगमा घाँसपात र चरनको प्रशस्त सुबिधा, बजारमा खसी बोकाको माग दिनहुँ बढ्दै जानु र बाख्रा पालेर राम्रै कमाउन सक्ने सम्भावना देखेपछि यस सहकारीका महिला बाख्रापालनमा आकर्षित भएका हुन् । सहकारीले बाख्रापालनका अतिरिक्त अदुवा प्रशोधन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ भने स्थानीय जातका कुखुरा संरक्षण जस्ता विभिन्न कृषि कार्यमा अगाडि बढेको छ ।