अष्ट्रेलियामा रहेका नेपालीहरुले रामपुर नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर पठाए

बन्दना पाेखरेल   १५ श्रावण २०७८, शुक्रबार ०६:३२
पाल्पा रामपुर
अष्ट्रेलियामा रहेका नेपालीहरुले रामपुर नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर पठाएको छ । कोभिड विरुद्धको अभियानमा साथ दिनका लागि गैरआवासिय नेपाली संघ (एनआरएन) मार्फत २ वटा अक्सिजन कन्सन्ट्रेटर पठाएको हो ।रामपुर नगरपालिका घर भई हाल अष्ट्रेलियामा रहनु भएका नारायण काफ्लेको पहलमा त्याहाँ रहेका नेपालीहरुले नगरपालिका भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको लागि अक्सिजन कन्सन्ट्रेटर पठाएको थियो ।
अक्सिजन कन्सन्ट्रेटर काठमाडौमा व्यवसाय सञ्चालन गर्दै आउनु भएका खगेश्वर पाठकले विहिबार रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख विष्णु देवि घिमिरे आचार्य र प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलालाई प्रदान गर्नु भएको हो ।सामाग्री ग्रहण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले प्रवासमा रहेका नेपालीहरुले स्वदेश माहामारी व्यवस्थापनको लागि दिएको साथको प्रशंसा गर्नुभयो ।
उहाँले सबैको साथ र सहयोगले व्यवस्थापनमा ठूलो राहत मिलेको बताउँदै धन्यवाद ज्ञापन गर्नुभयो । व्यवसायी पाठकले नगरपालिकाको लागि अष्ट्रेलिया बाट अक्सिजन कन्सन्ट्रेटर केही समय अघि नै आएको भए पनि विविध कारणले हस्तान्तरण ढिलो भएको जानकारी गराउँदै गैरआवासिय नेपाली संघ (एनआरएन) बाट ल्याएर प्रदान गरिएको जानकारी दिनुभयो । हस्तान्तरण कार्यक्रमको सञ्चालन रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले गर्नु भएको हो ।