
पाल्पा रामपुर ‘ब्लड क्यान्सर पिडित अंकित राना मगर बचाऊ अभियान’ अन्तर्गत संकलन भएको रकम परिवारलाई प्रदान गरिएको छ । नेपाल मगर संघ तथा एकिकृत मगर उत्थान समाज रामपुरले सञ्चालन गरेको अभियान अन्तर्गत संकलन भएको रकम दोस्रो पटक प्रदान गरेको हो । रामपुर नगरपालिका ५ राङभाङका व्लड क्यान्सर पिडित ६ वर्षिय बालक अंकित राना मगरको उपचार सहयोगका लागि अभियान अन्तर्गत संकलन भएको रकम तथा पाल्पाली सेवा समाज कतारबाट प्राप्त रकम हस्तान्तरण गरिएको हो ।
पाल्पाली सेवा समाज कतारले उपचारको लागि संकलन गरेको १ लाख ११ हजार रुपैयाँ रकम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य र पाल्पाली सेवा समाज कतारका निवर्तमान अध्यक्ष ईश्वर काफ्लेले संयुक्त रुपमा अंकितका फुपु दिदी दुर्गादेवी रानालाई प्रदान गर्नु भएको थियो । त्यस्तै देश तथा विदेशमा रहनु भएका नेपाली तथा विभिन्न संघ संस्था र व्यक्तिहरु बाट प्राप्त भएको रकम पनि सम्बन्धित व्यक्ति र समुह मार्फत हस्तान्तरण गरिएको थियो । पाल्पाली सेवा समाज कतार संगै विभिन्न संघ संस्था र व्यक्तिहरु बाट प्राप्त गरी २ लाख ४७ हजार २ सय १६ रुपैयाँ रकम प्रदान गरिएको हो ।
कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विरामी रानाको शिघ्रस्वस्थ्य लाभको कामना गर्दै विरामीको लागि आर्थिक संगै आत्मबल बढाउन सबैको शुभेच्छाको आवश्यक रहने बताउनुभयो । स्वदेश संगै परदेशमा रहनुभएका नेपालीहरुले सहयोगको लागि देखाएको तप्परताको प्रशंसा गर्नु भएको थियो । उहाँले नगरपालिका भित्रका हरेक नागरिकको स्वास्थ्य र जीवन रक्षाका लागी नगरपालिकाले सक्दो सहयोग गर्दै आएको बताउँदै क्यानसर पिडित रानाको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवि घिमिरे आचार्यले सञ्चालन भएको अभियानले नगर भित्र एकताको संदेश दिएको बताउनुभयो । उहाँले अप्ठ्यारोमा पर्दा सहयोग गर्ने भावनालाई थप जगाएको बताउनुभयो ।
रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्लले विदेश तथा स्वदेशमा रहेर सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । पाल्पाली सेवा समाज कतारका निवर्तमान अध्यक्ष ईश्वर काफ्ले हरेक अभियानमा पाल्पाली सेवा समाज अग्रसर भएर लाग्दै आएको बताउँदै, अंकितको उपचारमा सहजताको लागि भएको सहयोग संकलन अभियानमा पनि पाल्पालीहरु सक्रिय भएर लागेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विष्णु माया ढकालले आर्थिक सहयोग संगै सबैको आशिर्वादले जटिल प्रकारका रोग बाट बचाउन सकिने बताउनुभयो । एकिकृत मगर उत्थान समाजका अक्षकोष संयोजक देव बहादुर थापा मश्राङ्गी र नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि एवं समाजसेवी खगेश्वर पाठकले अंकितको उपचारमा सबैको शुभेच्छा र साथको खाँचो रहेको बताउनु भएको थियो । कार्यक्रममा अंकित रानाको फुपु दिदी तथा एकिकृत मगर उत्थान समाजका उपाध्यक्ष दुर्गादेवी रानाले अंकितको वर्तमान स्वस्थ्य अवस्थाको बारेमा जानकारी दिदै सहयोगी सबै दाताहरुलाई धन्यवाद दिनु भएको थियो ।
कार्यक्रममा एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाका अध्यक्ष राम बहादुर हिस्की थापा मगरले पिडित रानाको उपचारका लागी सवैलाई सक्दो सहयाग गर्न आग्रह गर्दै रानाको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको थियो । अंकित राना बचाउ अभियानका संयोजक राम बहादुर रानाले अहिले सम्म उपचारको लागि ६ लाख ५६ हजार ६ सय १ संकलन भैसकेको जानकारी दिनुभयो । उहाँले विभिन्न देशहरुमा सहयोग संकलन भैरहेको जानकारी गराउँदै केही दाताहरुले खाता जम्मा गरिसकेको र केहीले संकलनलाई जारी राखेको बताउनुभयो ।
एकिकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष राम बहादुर हिस्की थापा मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राम बहादुर रानाले गर्नु भएको हो । ब्लड क्यान्सर पिडित रानाको गत चैत्र २९ गते देखि विपि कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनमा उपचार भैरहेको छ । यस अघि रानाको उपचारको लागि रानाको उपचारको लागि रामपुर नगरपालिका, भुपू सैनिक राईजिङ ईङ्गिलिस स्कुल, आयुष ब्लड क्यान्सर पिडित अक्षयकोष संगै विभिन्न संघ संस्था, समुह र व्यक्तिहरुले सहयोग रकम हस्तान्तरण गरेको थियो।